काठमाडौं । बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री सुशीला कार्कीले आज सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।
निर्वाचन आयोगले तोकेको मौन अवधि आज मध्यरातिदेखि सुरु हुन लागेकाले त्यसअघि नै प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्न लागेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार यो सम्बोधन मुख्यतः आसन्न निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र मुलुकको पछिल्लो राजनीतिक तथा समसामयिक परिस्थितिमा केन्द्रित रहनेछ ।
मुलुक निर्वाचनमय भइरहेका बेला प्रधानमन्त्री कार्कीले जनतालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आह्वान गर्ने अपेक्षा गरिएको छ । विशेष गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तवरले सम्पन्न गर्न सरकारको प्रतिबद्धता दोहोऱ्याउँदै उनले शान्ति सुरक्षाको अवस्थाबारे समेत आश्वस्त पार्नेछिन् । निर्वाचनको अन्तिम तयारी पूरा भइसकेको अवस्थामा कार्यपालिका प्रमुखको यो सम्बोधनलाई राजनीतिक वृत्तमा निकै महत्वका साथ हेरिएको छ ।
आज मध्यरातिदेखि निर्वाचनको प्रचारप्रसार निषेध गरिने ‘मौन अवधि’ सुरु हुने भएकाले दलहरू र उम्मेदवारहरूका लागि आजको दिन निकै चटारोपूर्ण रहेको छ । यस्तो संवेदनशील समयमा हुन लागेको प्रधानमन्त्रीको सम्बोधनले मतदाताहरूमा उत्साह भर्ने र लोकतान्त्रिक अभ्यासलाई थप बलियो बनाउने विश्वास लिइएको छ । प्रधानमन्त्रीले सम्बोधनमार्फत सरकारका उपलब्धि र भावी योजनाका संक्षिप्त खाका समेत प्रस्तुत गर्न सक्ने सम्भावना रहेको छ ।

















