प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१८ फागुन,वीरगञ्ज । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्साको राजनीतिक माहोल झनै तातेको छ। यही क्रममा जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गर्दै युवा नेता सुमित चौरसिया सहित झण्डै दुई सयभन्दा बढी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

वीरगञ्जमा आयोजित कार्यक्रमबीच नवप्रवेशीहरूलाई पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरि पन्त ले टीका–माला लगाएर स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै पन्तले युवाहरूको बढ्दो साथले रास्वपा देशव्यापी रूपमा बलियो विकल्पका रूपमा स्थापित हुँदै गएको दाबी गरे। उनले भने, “जनता पुराना दलहरूसँग आजित भइसकेका छन्। परिवर्तन र सुशासनको अपेक्षा अब रास्वपामार्फत पूरा हुनेछ।”

रास्वपामा प्रवेश गर्दै चौरसियाले जसपा नेपाल सत्ताकेन्द्रित राजनीति र सम्झौतामा अल्झिएको आरोप लगाए। उनले मधेसका मुद्दा सम्बोधनमा कमजोरी देखिएको दाबी गर्दै आफू परिवर्तनको एजेण्डासहित रास्वपामा आबद्ध भएको बताए। “भ्रष्टाचार अन्त्य, सुशासन र युवाको भविष्य सुनिश्चित गर्न सक्ने शक्ति अब रास्वपा मात्रै हो,” उनले भने।

चौरसियासँगै प्रवेश गर्नेहरूमा विकास कुशवाहा, सुनिल अहमद, सुनिल माली, हिमांशु गुप्ता, धीरज रौनियार, सौरभ गुप्ता, राजेश राउत, ओमनाथ चौरसिया, अर्बाज अहमद लगायतका युवा रहेका छन्। रास्वपा पर्सा क्षेत्र नम्बर–१ का सभापति राम आर्यले नवप्रवेशीहरूलाई उचित जिम्मेवारी दिइने आश्वासन दिए।

यसैबीच रास्वपाले आइतबार राति वीरगञ्ज महानगरपालिका अन्तर्गत ताजपुर, परवानीपुर र भिषवामा चुनावी कोणसभा पनि सम्पन्न गरेको छ। सभामा युवापुस्ता, महिला तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति देखिएको थियो। वक्ताहरूले रोजगारी, शिक्षा, स्वास्थ्य र पारदर्शितालाई मुख्य एजेण्डा बनाइएको बताए।

राजनीतिक विश्लेषकहरूका अनुसार युवाहरूको बढ्दो आकर्षणले पर्सा–१ मा चुनावी समीकरण परिवर्तन हुन सक्ने संकेत देखिएको छ। पछिल्लो प्रवेश र कोणसभामा देखिएको जनसहभागिताले उम्मेदवार पन्तको अभियानलाई थप ऊर्जा मिलेको आकलन गरिएको छ। चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा युवामाझ देखिएको यो लहरले अन्तिम परिणाममा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।


सम्बन्धित समाचार
भर्खरै