प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१८ फाल्गुण, काठमाडौँ । आसन्न निर्वाचनको संघारमा नेपाली कांग्रेसले आफ्नो चुनावी परिणामबारे उत्साहजनक आन्तरिक विश्लेषण सार्वजनिक गरेको छ ।

पार्टीले प्रत्यक्षतर्फ ६० भन्दा बढी निर्वाचन क्षेत्रमा जित हासिल गर्ने र समानुपातिकतर्फ करिब ३५ सिट सुरक्षित गर्ने प्रारम्भिक आकलन गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीले तय गरेको अबकी बार सय पारको महत्वाकांक्षी लक्ष्य सफल हुने सम्भावना निकै बलियो देखिएको छ । सोमबारको अन्तिम चुनावी कसरत र कार्यकर्ता परिचालन व्यवस्थित हुन सकेमा कांग्रेसले संसदमा आफ्नो प्रभावशाली उपस्थिति जनाउने दाबी प्रवक्ता चालिसेले गरेका छन् ।

निर्वाचनको तथ्याङ्कगत प्रक्षेपण गर्दा कांग्रेसले काठमाडौँ, सर्लाही, कपिलवस्तु र धनुषाका ३–३ क्षेत्रसहित कैलाली र कञ्चनपुरका २–२ क्षेत्रमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेको छ। यस्तै, एक मात्र निर्वाचन क्षेत्र भएका १० भन्दा बढी जिल्लाहरूमा पनि पार्टीको पकड बलियो रहेको विश्लेषण गरिएको छ ।

रणनीतिक कारणले सबै क्षेत्रको नाम सार्वजनिक नगरिए पनि कतिपय स्थानमा झिनो मतको प्रतिस्पर्धा हुने र त्यहाँ आजको दिनभरको प्रयासले नतिजा आफ्नो पक्षमा पार्न सकिनेमा कांग्रेस विश्वस्त देखिएको छ । २०७९ को निर्वाचनमा गठबन्धनसहित ८९ सिट जितेको कांग्रेसले यसपटक सबै १६५ निर्वाचन क्षेत्रमा एक्लै उम्मेदवारी दिएकाले प्रत्यक्षतर्फको सिट संख्या बढ्ने उसको विश्वास छ ।

यद्यपि, पार्टीभित्रको आन्तरिक कलह र असन्तुष्ट समूहको व्यवस्थापन कांग्रेसका लागि मुख्य चुनौती बनेको छ ।


सम्बन्धित समाचार