प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१६ फागुन,वीरगञ्ज । । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी ले आफ्नो घरदैलो अभियानलाई निरन्तरता दिएका छन्। अभियानका क्रममा उनले वीरगञ्ज महानगरपालिका वडा नं. २६ स्थित अठराहा सुगौली टोलका बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी समस्या र सुझाव संकलन गरेका छन्।

घरघर पुगेर स्थानीयसँग अन्तरक्रिया गर्दै टेमानीले दैनिक जीवनमा भोगिरहेका चुनौतीबारे जानकारी लिएका थिए। स्थानीयवासीले विशेषगरी औद्योगिक क्षेत्रबाट उत्सर्जित धुवाँ, धुलो र फोहोर पानीका कारण वातावरण प्रदूषित भएको तथा त्यसले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको गुनासो गरेका छन्।

ढल तथा नाला व्यवस्थापन प्रभावकारी नहुँदा वर्षायाममा पानी जम्ने, दुर्गन्ध फैलिने र आवतजावतमा कठिनाइ हुने समस्या पनि उठाइएको थियो। त्यसैगरी खानेपानीको अभाव र उपलब्ध पानीको गुणस्तरप्रति समेत स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

टोलभित्रका सडक जीर्ण अवस्थामा रहेको, सडक बत्तीको कमी तथा सरसफाइ व्यवस्थापन कमजोर हुँदा दैनिक जनजीवन प्रभावित भएको विषयमा पनि ध्यानाकर्षण गराइएको छ। व्यवस्थित फोहोर व्यवस्थापन नहुँदा वातावरण अस्वस्थ बन्दै गएको स्थानीयको भनाइ छ।

स्थानीयका समस्या ध्यानपूर्वक सुनेपछि उम्मेदवार टेमानीले अठराहा सुगौली टोलको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। उनले औद्योगिक प्रदूषण नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चाल्ने र वातावरण संरक्षणसँगै नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिने बताए।

खानेपानी, ढल तथा नाला व्यवस्थापन, सडक स्तरोन्नति तथा सरसफाइ जस्ता आधारभूत पूर्वाधार विकासलाई योजनाबद्ध रूपमा अघि बढाइने उनले उल्लेख गरे। संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वयमार्फत दीर्घकालीन समाधान सुनिश्चित गर्ने उनको धारणा थियो।

घरदैलो अभियानका क्रममा स्थानीयले उम्मेदवारसँग प्रत्यक्ष संवाद गर्न पाएकोमा सकारात्मक प्रतिक्रिया दिएका छन्। समस्या सुनेर टोलमै उपस्थित भएकोमा धन्यवाद दिँदै उनीहरूले आगामी दिनमा ठोस समाधानको अपेक्षा व्यक्त गरेका छन्। टेमानीले निर्वाचन क्षेत्रका विभिन्न बस्तीमा पुगेर जनताको गुनासा सुन्ने र समाधानमुखी पहललाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्‍याएका छन्।


सम्बन्धित समाचार