प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१९ फाल्गुण, काठमाडौं । आसन्न निर्वाचनका लागि कार्यक्षेत्रमा खटिएका एक मतदान अधिकृतको ड्युटीकै क्रममा अचानक निधन भएपछि सर्लाहीको चुनावी वातावरण शोकमा बदलिएको छ ।

पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रको कमाण्ड सम्हालिरहेका ४२ वर्षीय रघुनाथ महतोको मंगलबार दिउँसो कार्यस्थलमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको हो । रौतहटको माधव नारायण नगरपालिका–६ का स्थायी बासिन्दा महतो सर्लाहीकै बरहथवा नगरपालिकामा सिनियर अहेबका रूपमा कार्यरत रहेकै अवस्थामा निर्वाचनको जिम्मेवारीमा खटिएका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दिउँसो २ बजेको समयमा मतदान केन्द्रमा काम गरिरहेका महतो अचानक ढलेका थिए । उनलाई तत्काल उद्धार गरी करिब १० किलोमिटर टाढा रहेको प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको भए पनि चिकित्सकहरूले करिब आधा घण्टाको प्रयासपछि मृत घोषणा गरेका थिए । स्वास्थ्य सेवामा सक्रिय महतो आफैँले अरूको उपचार गर्ने पेसामा रहे पनि आफ्नै जीवनको अन्तिम घडीमा भने अस्पतालसम्म पुग्दा प्राण त्याग्नुपरेको दुखद संयोग बनेको छ ।

प्रशासनका अनुसार महतोको शव अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमै राखिएको छ र उनको परिवारलाई दुखद खबर गरिसकिएको छ। मृत्युको यकिन कारण खुल्न नसके पनि हृदयघात वा अन्य आकस्मिक स्वास्थ्य समस्या हुनसक्ने चिकित्सकहरूको प्रारम्भिक अनुमान छ । मतदानको दिन नजिकिँदै गर्दा एउटा जिम्मेवार अधिकृतको यसरी अचानक निधन भएपछि निर्वाचन आयोग र स्थानीय प्रशासनले उक्त केन्द्रमा अर्को वैकल्पिक मतदान अधिकृत खटाउने तयारी थालेका छन् ।


सम्बन्धित समाचार