प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२० फागुन, काठमाडौँ । भोलि देशभर हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम सुरक्षा तयारीबारे केन्द्रीय सुरक्षा समिति को बैठकमा छलफल गरिएको छ ।

बुधवार गृह मन्त्रालय मा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकले मतदानको समयमा हेलिकप्टरमार्फत गस्ती गर्ने निर्णय गरेको हो ।

बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू तथा गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । गृह मन्त्रालयकी उपसचिव रमा आचार्यका अनुसार बैठकमा निर्वाचनको समग्र तयारी र समसामयिक सुरक्षा अवस्थाबारे विस्तृत छलफल भएको थियो ।

उनले भनिन्, “सुरक्षा मजबुत बनाउन मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्नेबारे छलफल भएको छ ।” गस्ती तथा आपतकालीन प्रयोजनका लागि हेलिकप्टर स्ट्यान्डबाइ राख्ने निर्णय गरिएको समेत उनले जानकारी दिइन् ।

समितिले भोलि हुने निर्वाचनमा कुनै विशेष सुरक्षा चुनौती नरहेको निष्कर्ष निकालेको छ । बैठकमा सुरक्षा प्रमुखहरूले देशभरको सुरक्षा अवस्थाबारे ब्रिफिङ गरेका थिए । यसअघि गृहसचिवले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल माध्यमबाट छलफल गरी सुरक्षा तयारीबारे जानकारी लिएका थिए ।

निर्वाचनका क्रममा कानुनविपरीत गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कडाइका साथ कारबाही गर्ने निर्णय पनि बैठकले गरेको उपसचिव आचार्यले बताइन् ।


सम्बन्धित समाचार