२० फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको छ ।
हालै कालोसूचीमा परेको आधारमा धनुषा–१ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको सन्दर्भमा कलवारको नाम पनि सोही सूचीमा रहेको विवरण सार्वजनिक भएको हो ।
कर्जा सूचना केन्द्रको अभिलेखअनुसार कलवारलाई २०८१ मंसिर ५ गते कालोसूचीमा राखिएको थियो र उक्त विवरण हालसम्म कायम रहेको देखिन्छ ।
निर्माण व्यवसायमा संलग्न कलवारमाथि विगतमा ठेक्का लिएका विभिन्न आयोजना अलपत्र पारेको आरोपसमेत लाग्ने गरेको छ ।
यसअघिको प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट उम्मेदवार बनेका थिए । त्यतिबेला नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार हरिप्रसाद उप्रेतीसँग झिनो मतान्तरले पराजित भएका थिए ।
यसपटक भने उनले रास्वपाबाट उम्मेदवारी दिएका छन् ।


















