२१ फागुन, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहीबार बिहान ७ बजेदेखि देशभर एकसाथ मतदान सुरु भएको छ । मुलुकका ७७ वटै जिल्लामा रहेका मतदान केन्द्रहरूमा बिहानैदेखि आमनागरिकको उत्साहजनक उपस्थिति देखिएको छ ।
निर्वाचन आयोगले तोकेको समयअनुसार बिहान ७ बजेदेखि नै मतदाताहरू लामबद्ध भई आफ्नो मताधिकार प्रयोग गर्न सुरु गरिसकेका छन्। मतदान प्रक्रिया आज साँझ ५ बजेसम्म निरन्तर जारी रहने आयोगले जनाएको छ ।
यसपटकको निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता सहभागी हुँदैछन्, जसमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य मतदाता रहेका छन् । यसका अतिरिक्त, १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाताहरूले पनि आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।
निर्वाचनलाई व्यवस्थित बनाउन देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ स्थायी मतदान केन्द्र र १ सय ४३ अस्थायी मतदान केन्द्रहरूको व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले मतदानलाई समावेशी र सहज बनाउन विशेष प्रवन्ध मिलाएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त र गर्भवती महिलाहरूलाई लामो समय लाममा बस्नु नपर्ने गरी प्राथमिकताका साथ मतदान गर्ने व्यवस्था गरिएको आयोगका अधिकारीहरूले बताएका छन् ।
बिहानैदेखि शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको र सुरक्षा व्यवस्थालाई समेत कडा पारिएको छ । देशभरका विभिन्न मतदान केन्द्रहरूबाट प्राप्त प्रारम्भिक रिपोर्टअनुसार मतदाताहरूमा नयाँ नेतृत्व चयनका लागि ठूलो उत्साह देखिएको छ ।


















