प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२१ फागुन, वीरगञ्ज । भदौरे विद्रोहको राप र तापपछि विघटित प्रतिनिधिसभाको रिक्तता चिर्न मुलुक आज एक ऐतिहासिक ‘विशेष निर्वाचन’ को संघारमा उभिएको छ। यो निर्वाचन केवल मतपेटिकामा मत खसाल्ने औपचारिक प्रक्रिया मात्र नभई दशकौँदेखिको जनआक्रोश, व्याप्त निराशा र परिवर्तनप्रतिको तीव्र आकांक्षाको सामूहिक अभिव्यक्ति बन्न पुगेको छ ।

६ महिनाअघि नवयुवाको विद्रोहले सत्ताको समीकरण मात्र बदलेन, दशकौँदेखि जकडिएको राजनीतिक संयन्त्रलाई समेत झकझकायो। त्यसैले आज भइरहेको यो मतदानलाई साधारण निर्वाचन मात्र नभई ‘महानिर्वाचन’ को रूपमा हेरिएको छ ।

यो निर्वाचन कुनै नियमित संवैधानिक आवधिक निर्वाचन वा दलहरूको आन्तरिक कलहले निम्त्याएको मध्यावधि चुनाव मात्र होइन । यो त सडक, सामाजिक सञ्जाल र सार्वजनिक बहसमा देखिएको युवा असन्तोषले स्थापित शक्तिलाई चुनौती दिँदै निर्माण गरेको विशेष परिस्थिति हो ।

रोजगारीको अभाव, संस्थागत भ्रष्टाचार, लाचार सेवा प्रवाह र भविष्यप्रतिको अनिश्चितताले आजका युवालाई मौन दर्शकबाट सचेत निर्णायकमा रूपान्तरण गरिदिएको छ । जसले गर्दा पुराना दलहरूलाई आफ्नो अस्तित्व रक्षा र नयाँलाई आफ्नो सान्दर्भिकता पुष्टि गर्ने यो एक अन्तिम अग्निपरीक्षा बन्न पुगेको छ ।

विगतमा सुशासन, विकास र समृद्धिका नाराहरू केवल चुनावी घोषणापत्र र भाषणमा सीमित रहे। नागरिकले कागजमा योजना त देखे तर व्यवहारमा त्यसको अनुभूति गर्न पाएनन् ।

आजको निर्वाचनले नागरिकलाई स्पष्ट निर्णय गर्ने अधिकार दिएको छ, उनीहरू काम गर्ने नेतृत्व चाहन्छन् कि पुरानै आश्वासनको पुनरावृत्ति? यो निर्वाचनमा कुनै अङ्कगणितीय स्वार्थका लागि बनेका अप्राकृतिक गठबन्धनहरू छैनन्; बरु सबै दलहरू एक्ला-एक्लै मैदानमा उत्रिएका छन्। यसले कुन दलको वास्तविक जनआधार र विश्वासको स्तर कति छ भन्ने कुराको निर्धक्क मापन गर्नेछ ।

चुनाव प्रचारका क्रममा नयाँ र पुराना शक्तिबीच तीव्र ध्रुवीकरण देखिएको छ। पुराना दलहरू नयाँसँग अनुभवको कमी रहेको तर्क गरिरहेका छन् भने नयाँ शक्तिहरू देशको दुरावस्थाका लागि पुरानाकै सिन्डिकेट जिम्मेवार रहेको आरोप लगाइरहेका छन् ।

आज खस्ने प्रत्येक मतले यो फैसला गर्नेछ कि को परिवर्तनको वास्तविक संवाहक हो र को केवल आक्रोशको क्षणिक आवाज। यो चुनाव नेतृत्वको चरित्र र नागरिक चेतना दुवैको कठोर परीक्षण हो ।

अन्ततः, आज फागुन २१ गते देशभरका मतदाताले प्रयोग गर्ने विवेकले केवल नयाँ सरकार मात्र बनाउने छैन, बरु मुलुकको आगामी दिशा र पुस्तागत भविष्यको मार्गचित्र समेत तय गर्नेछ ।

भावनामा बहकिएर होइन, विवेक र चरित्रका आधारमा गरिने यो मतदानले नेपाली लोकतन्त्रलाई नयाँ ट्रयाकमा फर्काउने अपेक्षा गरिएको छ। त्यसैले, यो एक दिनको मतदान मात्र नभई देशको पुनर्जागरणको प्रस्थानविन्दु हो – अर्थात् एक महानिर्वाचन हो ।


सम्बन्धित समाचार