२१ फागुन, चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय राजनीतिमा चर्चामा रहेको ‘नयाँ र पुरानो’ शक्तिबीचको बहस देशको हितमा नरहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा आज बिहान चितवन-३ मा पर्ने भरतपुर-१४ स्थित प्रहरी स्कुल मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
संयोजक प्रचण्डले निर्वाचनको सन्दर्भमा बनाइएको नयाँ र पुरानो भन्ने भाष्यले नागरिकलाई सही मार्गनिर्देश नगर्ने जिकिर गरे । “अहिले बजारमा नयाँ र पुराना भन्ने जुन भाष्य बनाइएको छ, यो देशको हितमा छैन,” उनले भने, “हामीले नयाँ र पुरानो भनेर होइन, सही र गलत भनेर बहस गर्नुपर्छ र त्यही अनुसारको भाष्य निर्माण गर्नुपर्छ।” उनले कुनै पनि शक्तिलाई केवल समयको आधारमा भन्दा पनि उसले बोक्ने विचार र प्रवृत्तिका आधारमा मूल्याङ्कन गरिनुपर्नेमा जोड दिए ।
दलहरूको योजना, नीति र कार्यक्रमका आधारमा मात्रै कसले देशको नेतृत्व गर्न सक्छ भन्ने कुराको फैसला हुनुपर्ने उनको तर्क थियो । “सबैसँग म अपिल गर्छु, यो सवाल नयाँ र पुरानाको हुँदै होइन, यो त सही र गलतको हो,” प्रचण्डले थपे, “कसको योजना के छ? कार्यक्रम के छ? त्यो हेर्नुपर्छ। राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिको पक्षमा कुन दल दृढतापूर्वक उभिएको छ, त्यसैका आधारमा नयाँ वा पुरानो भन्ने निर्धारण हुन्छ।”
संयोजक प्रचण्डले यस ‘विशेष निर्वाचन’ मा मतदाताहरूलाई आफ्नो विवेक प्रयोग गर्न समेत आग्रह गरे । “नयाँ र पुरानो भन्ने भाष्य जसरी बनाइएको छ, त्यो देश र लोकतन्त्रको हितमा छैन,” उनले दोहोर्याउँदै भने, “म सबै मतदातालाई अनुरोध गर्छु, आफ्नो विवेकको सही प्रयोग गरौँ र सहीको पक्षमा उभिऔँ ।” उनको यो अभिव्यक्तिले निर्वाचनमा उदय भएका नयाँ शक्ति र स्थापित पुराना दलहरूबीचको वैचारिक द्वन्द्वलाई संकेत गरेको छ ।

















