२१ फागुन, सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा मतदान सुरु भएको केही समयमै स्थिति तनावग्रस्त बनेको छ। बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदाताहरूबीच विवाद उत्पन्न भएपछि मतदान प्रक्रिया केही बेर अवरुद्ध हुन पुगेको हो।
बिहान मतदान सुरु भएको केही समयमै मतदान केन्द्रमा जम्मा भएका मतदाताहरूबीच सामान्य विषयलाई लिएर भनाभन भएको थियो । विवाद बढ्दै जाँदा हुलदङ्गाको स्थिति सिर्जना भएपछि सुरक्षा निकायले स्थितिलाई नियन्त्रणमा लिन कडा कदम चाल्नुपरेको थियो । हुलदङ्गाका कारण मतदान केन्द्रमा रहेका मतदाताहरूमाझ त्रास फैलिएको थियो भने झन्डै आधा घण्टा मतदान प्रक्रिया पूर्ण रूपमा रोकिएको थियो ।
घटना लगत्तै थप सुरक्षाकर्मी परिचालन गरी स्थितिलाई साम्य पारिएको छ। निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा निकायबीचको समन्वयपछि अहिले उक्त केन्द्रमा पुनः मतदान सुरु भइसकेको छ। “सुरुमा केही बेर विवादका कारण तनाव भएको सत्य हो, तर अहिले अवस्था सामान्य छ र मतदाताहरू शान्तिपूर्ण रूपमा लाइनमा बसेर मतदान गरिरहेका छन्,” स्थानीय सुरक्षा स्रोतले जानकारी दिएको छ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीले उक्त क्षेत्रका अन्य मतदान केन्द्रहरूमा भने मतदान कार्य सुचारु रहेको र संवेदनशील मानिएका केन्द्रहरूमा सुरक्षा गस्ती बढाइएको जनाएको छ।

















