काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज भइरहेको मतदानमा देशभर मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ। निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेसम्म देशभर करिब ६ प्रतिशत मतदान भएको छ।
आयोगको पछिल्लो तथ्याङ्क अनुसार बिहान ७ बजेदेखि १० बजेसम्मको तीन घण्टामा देशभर १० लाख ६५ हजार १२० जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। बिहानैदेखि मतदान केन्द्रहरूमा मतदाताहरूको लामो लाइन लागेको छ भने विशेषगरी युवा र वृद्धवृद्धाहरूमा मतदानप्रति निकै उत्साह देखिएको छ।
यसैबीच, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा मतदान जारी रहेको जानकारी दिए। मतदान गरेपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले ७७ वटै जिल्लामा आममतदाताको सक्रिय सहभागिता रहेको बताए । “बिहान ७ बजेदेखि नै अत्यन्त व्यवस्थित र उत्साहजनक रूपमा मतदान सुरु भएको छ। मतदाताको उपस्थिति र शान्ति सुरक्षाको अवस्था निकै राम्रो छ,” आयुक्त भण्डारीले भने ।
उनले मतदान प्रक्रियालाई सहज बनाइएको उल्लेख गर्दै एकजना मतदाताले मतपत्र पाएपछि एकदेखि दुई मिनेटभित्रै मतदान प्रक्रिया पुरा गर्न सक्ने बताए । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सरोकारवालाहरूलाई मतदान प्रक्रियालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पुर्याउन आह्वान समेत गरेका छन् ।
आयोगका अनुसार आज साँझ ५ बजे मतदान सम्पन्न भएलगत्तै सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू सङ्कलन गरिनेछ। मतपेटिकाहरू सुरक्षित रूपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याएपछि तत्कालै मतगणना प्रक्रिया सुरु गरिने तयारी आयोगले गरेको छ। केही छिटफुट घटनाबाहेक मुलुकभरको सुरक्षा अवस्था सामान्य रहेको र निर्वाचन प्रक्रिया सुचारु रहेको आयोगले स्पष्ट पारेको छ।
















