२१ फागुन, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयमा उत्पन्न विवादका कारण केही समय रोकिएको मतदान पुनः सुरु भएको छ।
निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र फेला परेपछि मतदान प्रक्रिया अवरुद्ध भएको थियो। मतदान केन्द्रमा १७१ मत खसिसकेपछि विवाद चर्किएको थियो। त्यसपछि दुवै मतपेटिकालाई सिलबन्दी गरेर छुट्टै गणना गर्ने सहमति भएपछि मतदान पुनः सञ्चालन गरिएको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए।
पौडेलका अनुसार घटनाबारे निर्वाचन आयोगलाई जानकारी दिइसकिएको छ। त्यसपछि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका लागि नयाँ मतपेटिका राखेर मतदान प्रक्रिया अघि बढाइएको हो। झन्डै दुई घण्टा रोकिएको मतदान अहिले सहज रूपमा जारी छ।
उक्त केन्द्रमा कुल ७०१ मतदाता रहेका छन् र हाल मतदाता लाइनमा बसेर मतदान गरिरहेका छन्।















