२१ फागुन,गाईघाट । झापाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डीगढी–९ को हँडियाबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०५००२ क १८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही नगरपालिका–५ का १८ वर्षीय समीर चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी १८ वर्षीय मौसम चौधरी र २३ वर्षीय अशोक चौधरी घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिएका छन्।
प्रहरीले दुर्घटनाको कारणको अनुसन्धान गरिरहेको छ र सडकमा सवारीसाधन चलाउँदा सतर्क रहन आम नागरिकलाई आग्रह गरेको छ।

















