२१ फागुन,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार दिउँसो कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्दै पश्चिम एसिया क्षेत्रमा पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीले कतारमा रहेका करिब ३ लाख ६० हजार नेपाली नागरिक सुरक्षित रहेको जानकारी पाएकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट कतार सरकारप्रति धन्यवाद व्यक्त गरेकी छन्। उनले भनिन्, “हाम्रो जनताको हेरचाह गर्नुभएकोमा हामी तपाईं तथा तपाईंको सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।”
साथै प्रधानमन्त्री कार्कीले नेपालले पश्चिम एसिया क्षेत्रमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउँदै सबै पक्षलाई संयमित रहन र द्वन्द्वलाई थप नचर्काउन आग्रह गरिन्। उनले संयुक्त राष्ट्र संघका मापदण्ड, अन्तर्राष्ट्रिय कानुन, जेनेभा अभिसन्धि र मानवीय कानुनको पालना सबैले गर्नुपर्नेमा जोड दिइन्।
टेलिफोन वार्तामा प्रधानमन्त्री कार्कीले युद्ध शान्तिको विकल्प नहुने भन्दै मात्र वार्ता र कूटनीतिक माध्यमबाट दीर्घकालीन शान्ति सुनिश्चित हुने बताइन्। उनले दुई मुलुकबीचको सम्बन्ध आगामी दिनमा उच्चस्तरीय भ्रमण, आर्थिक–सांस्कृतिक सहकार्य र जनस्तरको सम्बन्धमार्फत थप प्रगाढ हुने विश्वास पनि व्यक्त गरिन्।
कतारका प्रधानमन्त्री अल–थानीले नेपाल र कतारबीचको मित्रवत् सम्बन्धको प्रशंसा गर्दै कतारमा रहेका नेपाली नागरिकहरुको योगदानलाई उच्च मूल्याङ्कन गरे। उनले बताए, “हामी नेपाली नागरिकलाई कतारीनागरिकसरह सुरक्षा र संरक्षण प्रदान गर्दैछौं। हाम्रो प्रयास सार्वभौमिकता र भूमिको सुरक्षा सुनिश्चित गर्न मात्र हो।”
प्रधानमन्त्री कार्की र अल–थानीबीचको संवादले द्विपक्षीय मित्रता र वर्तमान जटिल परिस्थितिमा ऐक्यबद्धता प्रदर्शन गरेको देखाएको छ। दुई पक्षले आगामी दिनमा सम्बन्धलाई थप सुदृढ र व्यापक बनाउने आवश्यकतामा जोड दिएका छन्।

















