२१ फागुन,काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार दिउँसो करिब ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खसेको छ।
अध्यक्ष निर्वाचन आयोगका अनुसार हालसम्म देशभरका १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ८४ लाख ६० हजार ६ सय ७७ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।
मतदान विवरण अनुसार काठमाडौँ उपत्यकामा मतदाताको सबैभन्दा बढी उत्साह देखिएको छ। उपत्यकाका १५ निर्वाचन क्षेत्रमा दिउँसो पौने ४ बजेसम्म ५४ प्रतिशत मत खसिसकेको तथ्यांक छ।
प्रदेश अनुसार हेर्दा गण्डकी र कर्णाली प्रदेशमा सबैभन्दा बढी मतदान भएको छ। यी दुवै प्रदेशमा समान ४८ प्रतिशत मत खसेको छ। भने मधेस प्रदेशमा मतदानको प्रतिशत सबैभन्दा कम रहेको छ। मधेसका ३२ निर्वाचन क्षेत्रमा जम्मा ३७ प्रतिशत मत खसिएको छ।
यसैगरी बागमती र लुम्बिनी प्रदेशमा समान ४७ प्रतिशत मतदाताले मतदान गरेका छन् भने कोशी प्रदेशमा ४६ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा भने मधेसपछि सबैभन्दा कम ३९ प्रतिशत मत खसिसकेको छ।
देशभरका १६५ निर्वाचन क्षेत्रका १०,९६७ मतदानस्थलमा बिहानैदेखि मतदान भइरहेको छ। मतदान प्रक्रिया साँझ ५ बजेसम्म चल्नेछ र अन्तिम समयमा लाइनमा रहेका मतदाताको कारण खसेको मतको प्रतिशत उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ।

















