प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२१ फागुन,वासिङ्टन। मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै गएको छ। बिहीबार बिहान इरानको राजधानी तेहरानमा थुप्रै विस्फोटको आवाज सुनिएपछि देशको सुरक्षा संयन्त्र सक्रिय गरिएको इरानी समाचार एजेन्सी तस्निमले जनाएको छ। यसैबीच, इरानले इजरायलतर्फ नयाँ चरणको क्षेप्यास्त्र आक्रमण गरेको इजरायली सेना र तेहरानको राज्य सञ्चारमाध्यमले पुष्टि गरेका छन्।

अधिकारीहरूले जनाएका अनुसार उक्त क्षेप्यास्त्र आक्रमणपछि तेल अभिवसहित धेरै क्षेत्रमा हवाई हमलाको चेतावनी जारी गरिएको थियो। जेरुसेलममा पनि साइरन बजेसँगै विस्फोटको आवाज सुनिएको भए पनि इजरायलको आपतकालीन सेवाले तत्काल कुनै हताहत नभएको जानकारी दिएका छन्।

लेबनानमा आक्रमण र मृत्यु

इजरायलले लेबनानमा पनि हवाई आक्रमण जारी राखेको छ। दक्षिण बेरुतस्थित हिजबुल्लाहको गढ मानिने क्षेत्रमा बिहीबार बिहान हवाई आक्रमण भएपछि तीन व्यक्तिको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बेरुत विमानस्थल जाने राजमार्गमा भएका दुई अलग आक्रमणमा स्थानीय बासिन्दा मारिएका हुन्।

खाडीमा सुरक्षा संकट

खाडी क्षेत्रमा पनि तनाव बढेको छ। कुवेत नजिकको समुद्री क्षेत्रमा भएको ठूलो विस्फोटले एउटा तेल ट्यांकरमा क्षति पुर्‍याएको छ भने तेल फैलिएको बेलायती समुद्री सुरक्षा एजेन्सी युकेएमटीओले जनाएको छ। विस्फोटपछि ट्यांकरको कप्तानले सानो जहाज त्यहाँबाट निस्केको बताएका छन्।

इरानसँगको तनाव बढेपछि कतारले पनि सुरक्षा सतर्कता अपनाएको छ। अमेरिकी दूतावास नजिक बसोबास गर्ने बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सार्ने काम सुरु गरिएको छ।

टर्कीमा क्षेप्यास्त्र नष्ट

टर्कीले आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न लागेको इरानी ब्यालेस्टिक क्षेप्यास्त्रलाई नाटोको हवाई रक्षा प्रणालीमार्फत नष्ट गरेको जनाएको छ। उक्त क्षेप्यास्त्र इरानबाट प्रक्षेपण भई इराक र सिरिया हुँदै टर्कीको हवाई क्षेत्रतर्फ गइरहेको थियो। टर्कीले क्षेप्यास्त्र ग्रीक साइप्रसको सैन्य आधारतर्फ लक्षित भएको भए पनि मार्ग परिवर्तन भएको बताएको छ।

अमेरिकी प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध मोर्चामा अमेरिकी प्रदर्शनको प्रशंसा गर्दै यसलाई “१० को मापनमा १५” सफलताजस्तो मूल्याङ्कन गरेका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि वासिङ्टन र तेल अभिवले युद्धमा संयुक्त रूपमा ऐतिहासिक लाभ हासिल गरेको दाबी गरेका छन्।

तर अमेरिकी सिनेटमा द्विदलीय मतभेद देखिएको छ। इरानमाथिको सैन्य कारबाही रोक्ने प्रस्ताव ५३–४७ मतान्तरले असफल भएको छ। प्रस्तावले कङ्ग्रेसको स्पष्ट स्वीकृतिबिना सुरु गरिएको सैन्य अभियान रोक्ने प्रयास गरेको थियो।

अन्तर्राष्ट्रिय प्रतिक्रिया

विश्वभरिका राष्ट्रहरूले युद्धमा फरक प्रतिक्रिया देखाएका छन्। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले बढ्दो द्वन्द्वमा क्यानाडाको भूमिका अस्वीकार्न नसकिने बताएका छन्। अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजसँगको भेटमा उनले क्यानाडा आफ्ना सहयोगीहरूसँग उभिने स्पष्ट पारे।

स्पेनले अमेरिकाले आफ्नो सैन्य आधार प्रयोग गरेको दाबी अस्वीकार गरेको छ। अमेरिकी व्यापारिक दबाबपछि ह्वाइट हाउसले सहयोगका संकेत दिएका भए पनि स्पेनले इरानमाथिको बमबारीमा आफ्नो नीति अपरिवर्तित रहेको स्पष्ट पारेको छ।

चीनले भने मध्यपूर्वमा तनाव कम गर्न कूटनीतिक पहल अघि बढाउने घोषणा गरेको छ। विदेशमन्त्री वाङ यीले विशेष दूत पठाइने जानकारी दिएका छन्।

कतारले पनि इरानप्रति असन्तुष्टि व्यक्त गरेको छ। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले इरानले छिमेकी राष्ट्रलाई युद्धमा तान्ने प्रयास गरेको आरोप लगाएका छन्।

समुद्री व्यापार र तेल बजारमा असर

समुद्री व्यापारमा पनि युद्धको प्रभाव देखिन थालेको छ। डेनमार्कको शिपिङ कम्पनी मार्सक र जर्मनीको हपाग–लोयडले जोखिम मूल्यांकनपछि खाडी क्षेत्रतर्फका बुकिङ स्थगित गरेका छन्। यसअघि चीनको कोस्कोले पनि यस्तै निर्णय लिएको थियो।

इरानले होर्मुज जलडमरूमध्य प्रयोग नगर्न जहाजहरूलाई चेतावनी दिएपछि तेलको मूल्य बढेको छ। ओमानको नौसेनाले स्ट्रेट अफ होर्मुजमा मिसाइल प्रहार भएको कन्टेनर जहाजका २४ चालक दलका सदस्यलाई उद्धार गरेको छ। अमेरिकी नौसेना ट्यांकरहरूलाई एस्कर्ट गर्न तयार रहेको छ। इरानी सेनाले जलडमरूमध्यमा आफ्नो ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेको छ।

दक्षिण एसियामा असर

यो युद्धको असर दक्षिण एसियासम्म पनि पुगेको छ। श्रीलङ्काको तट नजिक अमेरिकी पनडुब्बीले इरानी युद्धपोतमा टारपीडो प्रहार गर्दा ८७ जनाको शव समुद्रबाट बरामद भएको छ। उद्धार टोलीले हालसम्म ती शवहरू संकलन गरेको जानकारी दिइएको छ।

विश्लेषकहरूले भने मध्यपूर्वको तनावले विश्वव्यापी सुरक्षा, तेल आपूर्ति, र अन्तर्राष्ट्रिय कूटनीतिमा दीर्घकालीन असर पार्ने बताएका छन्।


सम्बन्धित समाचार