प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२१ फाल्गुण, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै प्रधानमन्त्री सुशीला कार्कीले अब आफ्नो मुख्य जिम्मेवारी पूरा भएको बताउँदै जतिसक्दो चाँडो सत्ता हस्तान्तरण गर्ने घोषणा गरेकी छिन् ।

बीबीसीसँगको कुराकानीमा उनले आफूलाई सुम्पिएको म्यान्डेट पूरा भएको र अबको संक्रमणकाललाई थप नलम्ब्याई नयाँ बन्ने सरकारका लागि बाटो प्रशस्त गर्न आफू आतुर रहेको स्पष्ट पारेकी छिन् । चाहे त्यो गठबन्धन सरकार होस् वा एकल, प्रक्रिया पुग्नेबित्तिकै पद त्याग गरेर बाहिरिने उनको दृढता छ ।

यसपटकको निर्वाचन विगतको तुलनामा निकै निष्पक्ष र मितव्ययी भएको दाबी गर्दै प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डलका सदस्यहरू आफैँ उम्मेदवार नबन्नुलाई यसको मुख्य कारण मानेकी छिन् । प्रधानमन्त्री र मन्त्रीहरू चुनावी मैदानमा नहुँदा राज्यको स्रोत र साधनको दुरुपयोग हुने सम्भावना अन्त्य भएको र निर्वाचन आयोगले पूर्ण स्वतन्त्रताका साथ काम गर्न पाएको उनको तर्क छ । निर्वाचनलाई केवल सत्ता जोगाउने माध्यम नभई लोकतान्त्रिक अभ्यासको कसीमा खरो उतार्न सरकार सफल भएको उनले बताइन् ।

आफ्नो कार्यकालको सुरुदेखि नै निर्वाचन हुनेमा अनेकौँ आशङ्का र आलोचनाहरू व्याप्त रहे पनि सरकार आफ्नो लक्ष्यबाट विचलित नभएको प्रधानमन्त्रीको भनाइ छ । राजनीतिक दलहरूलाई सहमतिमा ल्याउने र चुनावी वातावरण बनाउने सन्दर्भमा धेरै बाधा–अवरोध आए पनि मन्त्रिमण्डलको एकोहोरो लगनशीलताले नै यो ऐतिहासिक उपलब्धि सम्भव भएको उनले उल्लेख गरिन् । विशेषगरी डे वानदेखि नै निर्वाचनमा एक थोपा रगत पनि नबगोस् भन्ने आफ्नो सङ्कल्प पूरा भएकोमा उनले विशेष सन्तोष व्यक्त गरिन् ।

सत्ताबाट बाहिरिनुअघि सरकारले आफ्नो कार्यकालका अनुभव र देखिएका कमी–कमजोरीहरू समेटिएको एक विशेष श्वेतपत्र जारी गर्ने तयारी समेत गरेको छ । जेनजी सम्झौता र विभिन्न आयोगका प्रतिवेदनहरूलाई व्यवस्थित गरी नयाँ सरकारलाई बुझाउने योजना रहेको कार्कीले जानकारी दिइन् । जाँदाजाँदै उनले नयाँ आउने नेतृत्वले मुलुकमा सुशासन कायम गर्ने र नेपाली युवाहरूले रोजगारीका लागि विदेशमा ज्यान गुमाएर बाकसमा फर्किनुपर्ने विदारक स्थितिको अन्त्य गर्नेछन् भन्ने अपेक्षा राखेकी छिन् ।


सम्बन्धित समाचार