Logo

२२ फागुन, काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य तीव्र गतिमा अघि बढ्दै जाँदा नयाँ शक्तिहरूको उदय हुने संकेत देखिएको छ। निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार मतगणना भइरहेका २१ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ स्थानमा आफ्नो स्पष्ट अग्रता कायम गरेको छ।

पछिल्लो नतिजा अनुसार काठमाडौँका १० वटा निर्वाचन क्षेत्रमध्ये ९ वटामा रास्वपाका उम्मेदवारहरूले अग्रता लिएका छन् । काठमाडौँ क्षेत्र नं. ३ बाहेक गणना भइरहेका अन्य सबै क्षेत्रमा रास्वपा निकै अगाडि देखिएको छ । रास्वपाको यो लहर उपत्यका बाहिर पनि फैलिएको छ, जहाँ रुपन्देही क्षेत्र नं. २ मा पनि रास्वपाकै उम्मेदवारले अग्रता कायम गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले हालसम्म दुई स्थानमा आफ्नो अग्रता जोगाउन सफल भएको छ। भक्तपुर क्षेत्र नं. २ र चितवन क्षेत्र नं. २ मा एमालेका उम्मेदवारहरूले अग्रता लिइरहेका छन्। त्यस्तै, काठमाडौँ क्षेत्र नं. ३ मा भने विशेष प्रतिस्पर्धा देखिएको छ, जहाँ उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अन्य दलका उम्मेदवारहरूलाई पछि पार्दै आफ्नो अग्रता सुरक्षित राख्नुभएको छ।

अहिले देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट मतपेटिकाहरू संकलन भई मतगणना सुरु हुने क्रम जारी छ। प्रारम्भिक नतिजाले मतदाताहरूमा परिवर्तनको तीव्र चाहना रहेको र पुराना स्थापित दलहरूलाई नयाँ शक्तिले कडा टक्कर दिइरहेको स्पष्ट संकेत गरेको छ।


सम्बन्धित समाचार