२२ फागुन, झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरिकै ‘इपिसेन्टर’ मानिएको झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना परिणाम सार्वजनिक भएको छ। बहुप्रतीक्षित यस क्षेत्रको सुरुवाती रुझानले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरिदिएको छ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पहिलो चरणको १ हजार ४ सय मत गणनाको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले भारी अग्रता लिएका छन् । शाहले ८१४ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई निकै पछाडि छाडेका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुरुवाती गणनामा ३८४ मत प्राप्त गरेका छन् । आफ्नो बलियो गढ मानिएको क्षेत्रमा अध्यक्ष ओली प्रारम्भिक रूपमै पछि पर्नुलाई राजनीतिक विश्लेषकहरूले अर्थपूर्ण रूपमा हेरेका छन् । पाँच निर्वाचन क्षेत्र रहेको झापामा यसपटक नयाँ शक्ति र स्थापित पुराना शक्तिबीचको भिडन्त रोचक मोडमा पुगेको छ ।
अहिले दमकस्थित गणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने थप मतपेटिकाहरू खोल्ने क्रम जारी छ। झापा–५ को यो प्रारम्भिक नतिजाले जिल्लाका अन्य क्षेत्रमा पनि कस्तो प्रभाव पार्छ भन्ने कुरामा सबैको चासो बढेको छ ।
















