२२ फाल्गुण, काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना देशभर जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अपत्यारिलो र सानदार प्रदर्शन गरिरहेको छ ।
शुक्रबार दिउँसोको पछिल्लो मतपरिणाम अनुसार, रास्वपाले काठमाडौँ क्षेत्र नं. १ मा रञ्जु दर्शनामार्फत पहिलो जित दर्ता गरिसकेको छ भने देशका अन्य ७९ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गर्दै पुराना राजनीतिक शक्तिहरूलाई स्तब्ध बनाएको छ । विशेष गरी काठमाडौँ उपत्यका, चितवन, झापा र बुटवल जस्ता प्रमुख सहरहरूमा रास्वपाका उम्मेदवारहरूले फराकिलो मतान्तरसहित आफ्नो दबदबा कायम राखेका छन् ।
रूपन्देही–२ मा सुलभ खरेल र काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठले १६ हजारभन्दा बढी मतका साथ कडा अग्रता लिइरहँदा काठमाडौँका अधिकांश क्षेत्रमा रास्वपाकै वर्चस्व देखिएको छ । झापा–५ मा बालेन्द्र शाह (बालेन) ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै ५ हजार २ सयभन्दा बढी मतका साथ अग्रता लिनु र चितवन–३ मा सोबिता गौतमले अग्रता कायम राख्नुलाई राजनीतिक वृत्तमा ठूलो फेरबदलको संकेतका रूपमा हेरिएको छ ।यस्तै, धनुषामा मनिष झा, काठमाडौँमा शिशिर खनाल र सस्मित पोखरेल जस्ता उम्मेदवारहरूले १० हजारको आँकडा पार गर्दै जितको नजिक पुगेका छन् ।
यो चुनावी रुझानले तराईका बारा, मोरङ र बाँकेदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म रास्वपाको उपस्थिति बलियो रहेको पुष्टि गरेको छ। लामो समयदेखि राजनीतिमा स्थापित अनुहारहरूलाई पछि पार्दै तोसिमा कार्की, पुकार बम, स्वर्णिम वाग्ले र रवि लामिछाने जस्ता पात्रहरूले मतदाताको बलियो विश्वास जितेका छन् ।
सर्लाहीमा अमरेश सिंह र गुल्मीमा सागर ढकालको अग्रताले पनि स्वतन्त्र र नयाँ सोच बोकेका उम्मेदवारहरूप्रति जनताको आकर्षण बढेको देखिन्छ । देशभर फैलिएको यो निलो लहरले नेपाली संसद्को आगामी चित्र पूर्णतः बदलिने र परम्परागत राजनीतिक सिन्डिकेट तोडिने निश्चित प्रायः देखिएको छ ।

















