२२ फाल्गुण, काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणनाले नेपाली राजनीतिको स्थापित समीकरणलाई पूर्णतः उथलपुथल पारिदिएको छ ।
शुक्रबार दिउँसोसम्मको चुनावी रुझान हेर्दा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकछत्र लहर देखिएको छ, जहाँ रास्वपाले ८९ स्थानमा प्रभावशाली अग्रता कायम गर्दै पुराना दलहरूलाई निकै पछाडि छाडिदिएको छ । निर्वाचन इतिहासमै पहिलोपटक प्रमुख पार्टीका रूपमा चिनिएका नेपाली कांग्रेस, एमाले र नेकपाका प्रभावशाली नेताहरू आफ्नै गढमा निरीह देखिनुले मतदाताको तीव्र परिवर्तनको चाहनालाई पुष्टि गरेको छ ।
अहिलेसम्म रास्वपाले काठमाडौँ–१ मा रञ्जु दर्शनामार्फत र कांग्रेसले मुस्ताङ–१ मा योगेश गौचन थकालीमार्फत जितको खाता खोलिसकेका छन् भने एमाले र नेकपा अझै पहिलो जितको पर्खाइमा छन् ।
सबैभन्दा आश्चर्यजनक नतिजा झापा–५ मा देखिएको छ, जहाँ एमाले अध्यक्ष केपी शर्मा ओली रास्वपाका बालेन शाहभन्दा झन्डै चार गुणा बढी मतान्तरले पछाडि परेका छन् । बालेनले ५,२५४ मतका साथ अग्रता लिइरहँदा ओलीले मात्र १,२४८ मत प्राप्त गरेका छन् ।
गगन थापालाई अमरेशको चुनौती
यस्तै, रौतहट–१ मा माधवकुमार नेपाल चौथो स्थानमा धकेलिएका छन् भने सर्लाही–४ मा गगन थापालाई अमरेश सिंहले कडा चुनौती दिइरहेका छन् । रुपन्देही–२ मा विष्णु पौडेल रास्वपाका सुलभ खरेलभन्दा १३ हजार बढी मतले पछाडि पर्नु र मोरङ–६ मा डा। शेखर कोइराला रुविना आचार्यभन्दा निकै तल रहनुले पुराना नेताहरूको साख जोखिममा परेको संकेत गर्दछ ।
आफ्नो पकड जोगाउँदै प्रचण्ड
रुकुम पूर्वमा भने नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पकड जोगाउँदै ५,०३९ मतका साथ सुरक्षित अग्रता कायम गरेका छन्। यद्यपि, अन्यत्र भने नेकपा र एमालेका ठूला नेताहरू रक्षात्मक अवस्थामा छन् । दाङमा शंकर पोखरेल, गुल्मीमा प्रदीप ज्ञवाली र गोकर्ण विष्ट, अनि भक्तपुरमा महेश बस्नेत जस्ता प्रभावशाली पात्रहरू रास्वपाका नयाँ उम्मेदवारहरूसँग भारी मतान्तरले पछाडि परेका छन् ।
काठमाडौँ–५ मा सस्मित पोखरेल र चितवनमा रवि लामिछानेको फराकिलो अग्रताले रास्वपाको विजय यात्रालाई थप सुनिश्चित बनाउँदै लगेको छ । सुदूरपश्चिमको अछाममा भीम रावलको अग्रता र धादिङमा आशिका तामाङको उदयले यो निर्वाचनलाई केवल सत्ता परिवर्तन मात्र नभई नयाँ पुस्ताको नेतृत्व स्थापित गर्ने ऐतिहासिक मोडका रूपमा चित्रण गरिएको छ ।

















