२२ फागुन,वीरगञ्ज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नम्बर १ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि पन्त अग्रस्थानमा रहेका छन्। प्रारम्भिक मतपरिणामअनुसार यस क्षेत्रमा प्रतिस्पर्धा रोचक बन्दै गएको छ।
पर्सा–१ को पछिल्लो मतपरिणामअनुसार हरि पन्तले १,३६६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटाले ९७३ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवले ६९९ मत प्राप्त गरेका छन्।
मतगणना केन्द्रबाट प्राप्त जानकारीअनुसार अहिले विभिन्न वडाबाट आएको मतको गणना क्रमशः जारी रहेको छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने निर्वाचन अधिकृतको कार्यालयले मतगणना प्रक्रिया पारदर्शी र व्यवस्थित ढंगले सञ्चालन भइरहेको जनाएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना अझै प्रारम्भिक चरणमै रहेकाले अन्तिम परिणाम आउन केही समय लाग्नेछ। विभिन्न दलका प्रतिनिधि, पर्यवेक्षक तथा सम्बन्धित अधिकारीहरूको उपस्थितिमा मतगणना भइरहेको छ।
यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार प्रदीप यादव २२,५३७ मतसहित विजयी भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई १,६२० मतान्तरले पराजित गरेका थिए। द्विवेदीले २०,९१७ मत प्राप्त गरेका थिए।
यसपटकको निर्वाचनमा भने विभिन्न दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ। प्रारम्भिक मतगणनामा देखिएको परिणामले पर्सा–१ को राजनीतिक समीकरणमा परिवर्तनको संकेत गरेको विश्लेषकहरू बताउँछन्।

















