२२ फागुन,वीरगञ्ज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नम्बर १ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि पन्त अग्रस्थानमा रहेका छन्। पछिल्लो मतपरिणामअनुसार उनले आफ्नो अग्रता कायम राखेका छन्।
पर्सा–१ को पछिल्लो मतपरिणामअनुसार हरि पन्तले २,२५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले १,२१८ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटाले १,००१ मत प्राप्त गरेका छन्।
मतगणना केन्द्रबाट प्राप्त जानकारीअनुसार विभिन्न मतदान केन्द्रबाट आएको मतको गणना क्रमशः जारी रहेको छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने निर्वाचन अधिकृतको कार्यालयले मतगणना प्रक्रिया पारदर्शी र व्यवस्थित ढंगले सञ्चालन भइरहेको जनाएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन केही समय लाग्नेछ। विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा पर्यवेक्षकहरूको उपस्थितिमा मतगणना भइरहेको छ।
यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार प्रदीप यादव २२,५३७ मतसहित विजयी भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई १,६२० मतान्तरले पराजित गरेका थिए। द्विवेदीले २०,९१७ मत प्राप्त गरेका थिए।
यसपटकको निर्वाचनमा भने विभिन्न राजनीतिक दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ। प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पन्तले अग्रता लिएसँगै पर्सा–१ को राजनीतिक समीकरणमा परिवर्तन आउन सक्ने अनुमान गरिएको छ। मतगणना जारी रहेकाले अन्तिम परिणामलाई लिएर मतदाताबीच चासो बढेको छ।

















