२२ फागुन,वीरगञ्ज । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पर्साका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाले यस क्षेत्रको राजनीतिक प्रतिस्पर्धा कडा रहेको देखाएको छ।
पर्सा क्षेत्र नम्बर १ मा रास्वपाका बुद्धिबहादुर पन्तले अग्रता लिएका छन्। उनले २,२५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रदीप यादवले १,२०८ मत पाएका छन् भने नेपाली कांग्रेसका अनिल रुंगटाले १,००१ मत प्राप्त गरेका छन्।
पर्सा क्षेत्र नम्बर २ मा रास्वपाका सुशील साह कानु ३,७०९ मत प्राप्त गरी अग्रस्थानमा छन्। उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) की रिमाकुमारी यादवले १,७८७ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका अजय चौरसियाले १,५५८ मत पाएका छन्।
पर्सा क्षेत्र नम्बर ३ मा पनि रास्वपाका रामाकान्त चौरसियाले २,०३० मत ल्याएर अग्रता कायम राखेका छन्। नेपाली कांग्रेसका सुरेन्द्र चौधरी १,०८८ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा (एमाले) का रुपेश पाण्डेयले ४८९ मत प्राप्त गरेका छन्।
त्यस्तै पर्सा क्षेत्र नम्बर ४ मा रास्वपाका टेकबहादुर शाक्य ५७५ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन्। नेकपा (एमाले) का जालिम मियाँ मंसुरीले २३३ मत ल्याए भने नेपाली कांग्रेसका पूर्वमन्त्री रमेश रिजालले १७४ मत पाएका छन्।
निर्वाचन अधिकृतले मतगणना जारी रहेको र अन्तिम परिणाम आउन अझ केही समय लाग्ने जानकारी दिएका छन्। प्रारम्भिक मतगणनाले पर्सा जिल्लामा रास्वपाका उम्मेदवारको राजनीतिक अग्रता स्पष्ट भएको छ र मतदाता वर्गमा नयाँ राजनीतिक झुकाव देखिएको विश्लेषकहरूले बताएका छन्।

















