२२ फागुन,वीरगञ्ज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त चौरसीयाले अग्रस्थानमा रहेका छन्।
पर्सा–३ को पछिल्लो मतपरिणामअनुसार चौरसीयाले २,८४८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्वमन्त्री सुरेन्द्र चौधरी १,३१५ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै नेकपा (एमाले) का उम्मेदवार रुपेश कुमार पाण्डेले ९५३ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयले मतगणना जारी रहेको र अन्तिम परिणाम आउन अझ केही समय लाग्ने जानकारी दिएको छ। मतगणना स्थलमा सुरक्षा कडा बनाइएको छ र विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा पर्यवेक्षकहरूले प्रक्रिया अनुगमन गरिरहेका छन्।
गत २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पर्सा–३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार राजकुमार गुप्ता २४,३१९ मतसहित विजयी भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई केवल १६७ मतान्तरले पराजित गरेका थिए। चौधरीले उक्त निर्वाचनमा २४,१५२ मत प्राप्त गरेका थिए।
यसपटक प्रारम्भिक मतगणनाले रास्वपाका उम्मेदवार चौरसीयाले अग्रता लिँदै पर्सा–३ मा राजनीतिक समीकरणमा सम्भावित परिवर्तनको संकेत दिएको छ। मतगणना जारी रहेकाले अन्तिम परिणामसँगै क्षेत्रको राजनीतिक अवस्था स्पष्ट हुने अपेक्षा गरिएको छ।

















