Logo

२२ फागुन,वीरगञ्ज । प्रतिनिधि सभा निर्वाचन सकिएको २४ घण्टा पुगेको अवस्थामा मतगणना जारी रहँदा ठूला दलका शीर्ष नेताहरू हारको संघारमा पुगेको देखिएको छ। प्रारम्भिक मत परिणामअनुसार नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत कम्युनिष्ट) का बहुसंख्यक शीर्ष नेताहरूको जीतको सम्भावना कमजोर देखिएको छ।

हालसम्म प्राप्त मत परिणामले नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्र संसदमा प्रवेश सुनिश्चित गर्न सफल भएका छन्। रुकुमपूर्वबाट उम्मेदवार प्रचण्डले ६ हजार ८२० मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लीलामणि गौतमले २ हजार ७५६ मत मात्र प्राप्त गरेका छन्।

यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग पराजीत हुने सम्भावना देखिएको छ। प्रारम्भिक मत परिणामअनुसार ओलीले १ हजार ४२८ मत मात्र प्राप्त गरेका छन् भने बालेनले ६ हजार ५५१ मत पाएका छन्।

रौतहट–१ बाट उम्मेदवार माधव नेपाल पनि प्रतिष्पर्धामा पछाडि परेको देखिन्छ। उनले ७१६ मत प्राप्त गरेका छन् भने अग्रस्थानमा रास्वपाका राजेशकुमार चौधरी २ हजार ५२९ मतसहित रहेका छन्।

कांग्रेस सभापति गगनकुमार थापा सर्लाही–४ बाट प्रतिस्पर्धामा रहेका छन्। प्रारम्भिक मत अनुसार उनले १ हजार ७१४ मत प्राप्त गरेका छन् भने रास्वपाका अमरेश कुमार सिंहले २ हजार ८४७ मतसहित अग्रता कायम राखेका छन्।

एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ बाट ३ हजार ९९६ मतसहित पछाडि परेका छन्। रास्वपाका सुलभ पोखरेलले १८ हजार ५३९ मतसहित अग्रस्थानमा रहेका छन्।

दाङ–२ बाट उम्मेदवार एमएलएको महासचिव शंकर पोखरेल पनि रास्वपाका विपीन कुमार आचार्यसँग पछाडि परेका छन्। आचार्यले २ हजार ४४३ मत पाउँदा पोखरेलले ५९४ मत प्राप्त गरेका छन्।

कांग्रेसका नेता शेखर कोइरालालगायत महामन्त्री प्रदीप पौडेल र राप्रपाका पूर्व अध्यक्ष कमल थापाले पनि प्रारम्भिक मत परिणाम अनुसार हारको संघारमा रहेका छन्।

हालसम्म मतगणना भइरहेको निर्वाचन क्षेत्रहरूमध्ये ८० भन्दा बढी क्षेत्रमा रास्वपा अग्रस्थानमा रहेको देखिएको छ। रास्वपाका सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल लगायत नेताहरू जीतको नजिक पुगेका छन्। विश्लेषकहरूले २०७९ को निर्वाचनमा संसदको चौथो शक्ति बनेको रास्वपाले यसपटक बहुमतसहित एकल सरकार बनाउने स्थिति प्राप्त गर्न सक्ने संभावना रहेको बताइरहेका छन्।

मत परिणामले नेपालको राजनीतिक परिदृश्यमा महत्वपूर्ण परिवर्तन आउने संकेत दिएको छ र मतदाता वर्गमा रास्वपामा नयाँ विश्वास देखिएको छ।


सम्बन्धित समाचार