२३ फागुन, वीरगञ्ज । मधेस राजनीतिको केन्द्र मानिने पर्सा जिल्लामा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित र ऐतिहासिक अग्रता हासिल गरेको छ।
पछिल्लो प्राप्त विवरण अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले आफ्ना निकटतम प्रतिस्पर्धीलाई निकै पछाडि छाड्दै ‘क्लिन स्वीप’ तर्फ पाइला चालेका छन् ।
पर्सा क्षेत्र नम्बर १ मा रास्वपाका हरि पन्त २२ हजार ७५ मतका साथ अग्रस्थानमा छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूलाई ठूलो अन्तरले पछाडि पारेका छन्। यहाँ एमालेका प्रदीप यादव १० हजार ४ सय २० मतका साथ दोस्रो र कांग्रेसका अनिल रुङ्गटा ९ हजार ३ सय ५३ मतका साथ तेस्रो स्थानमा छन्।
क्षेत्र नम्बर २ मा रास्वपाका सुशील साह कानु २१ हजार २ सय ८२ मतका साथ निकै अगाडि छन्। उनलाई कांग्रेसका अजय चौरसियाले ८ हजार २२८ मत र एमालेकी रीमा कुमारी यादवले ८ हजार २५ मतका साथ पछ्याइरहेका छन्।
क्षेत्र नम्बर ३ मा पनि रास्वपाकै रामाकान्त चौरसिया १० हजार ८ हजार ३८ मतका साथ शीर्ष स्थानमा छन् । यहाँ कांग्रेसका सुरेन्द्र चौधरी ५ हजार १ मतका साथ दोस्रो र एमालेका रुपेश कुमार पाण्डे ३ हजार ८ सय ५७ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
पर्सा क्षेत्र नम्बर ४ मा रास्वपाका टेक बहादुर शाक्य ९ हजार ५ सय ४९ मतका साथ सुरक्षित अग्रतामा छन्। यहाँ दोस्रो स्थानमा कांग्रेसका रमेश रिजाल ३ हजार २ सय १४ मतका साथ रहेका छन् ।
विशेष चासोको रूपमा हेरिएको यस क्षेत्रमा समीकरणमा हेरफेर भएको छ। नेकपाका जयप्रकाश थारु २ हजार १ सय ६३ मतका साथ तेस्रो स्थानमा उक्लिएका छन्। यससँगै नेकपा (एमाले) का उम्मेदवार जालिम मियाँ एक स्थान तल झर्दै १ हजार ५ सय ९७ मतका साथ चौथो स्थानमा पुगेका छन् ।

















