Logo

२३ फागुन, काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण सुरु गरेसँगै मध्यपूर्वमा बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ तीव्र रूपमा उकालो लागेको छ । शनिबार इरानको राजधानी तेहरानसहित विभिन्न क्षेत्रमा भीषण आक्रमण भएपछि विश्व बजारमा तेलको आपूर्ति व्यवस्था बिग्रिने डरले मूल्यमा उछाल आएको हो ।

ऊर्जा बजारसम्बन्धी वेबसाइट आयलप्राइस डटकमका अनुसार कच्चा तेलको मूल्य बढेर प्रतिव्यारेल १०३.२ डलर पुगेको छ। विशेषगरी मुरबान क्रुडको मूल्यमा ९.२४ प्रतिशतको वृद्धि देखिएको छ भने ब्रेन्ट क्रुड ८.५२ प्रतिशतले बढेर प्रतिव्यारेल ९२.६९ डलर पुगेको छ। त्यसैगरी, वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) को मूल्यमा १२.२१ प्रतिशतको ठूलो वृद्धि भई प्रतिव्यारेल ९०.९० डलर कायम भएको छ।

मध्यपूर्वको यो द्वन्द्व लम्बिएमा तेलको मूल्यले सन् २०२२ को रुस–युक्रेन युद्धकालीन रेकर्डलाई समेत तोड्न सक्ने अनुमान गरिएको छ। विश्वको एकतिहाइ कच्चा तेलको व्यापार हुने पर्सियन खाडी क्षेत्रको हर्मुज जलडमरू मार्ग युद्धका कारण प्रभावित भएपछि साउदी अरेबिया लगायतका प्रमुख उत्पादक राष्ट्रबाट हुने आपूर्तिमा गम्भीर असर पर्ने देखिएको छ ।

इरानले जवाफी कारबाही स्वरूप कतार, संयुक्त अरब इमिरेट्स, बहराइन र साउदी अरेबियातर्फ मिसाइल प्रहार गरेपछि यस क्षेत्रको हवाई तथा समुद्री यातायात समेत ठप्प प्रायः भएको छ। यसअघि सन् २०२५ र २०२६ मा तेलको मूल्य ६० डलरको आसपासमा झर्ने प्रक्षेपण गरिए पनि वर्तमान तनावले ती सबै अनुमानहरूलाई उल्ट्याइदिएको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको यो अनपेक्षित मूल्य वृद्धिको प्रत्यक्ष असर नेपालमा पनि पर्ने निश्चित देखिएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीका भट्टका अनुसार हाललाई आपूर्तिमा तत्कालै ठूलो समस्या नदेखिए पनि अन्तर्राष्ट्रिय दररेट बढेकाले मूल्यमा भने भारी चाप पर्न सक्नेछ ।

कच्चा तेलसँगै विश्व बजारमा सुन र अमेरिकी डलरको भाउ समेत बढ्दै जाँदा यसले विश्वव्यापी रूपमा महँगी बढाउने र अर्थतन्त्रमा थप चुनौती थप्ने विश्लेषकहरूले चेतावनी दिएका छन्। युद्धको डढेलो नथामिए सन् २०२९ र २०३० सम्म तेलको औसत मूल्य ७५ डलरभन्दा माथि नै रहने प्रक्षेपण समेत सार्वजनिक भएका छन्।


सम्बन्धित समाचार