२३ फागुन,झापा । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ को मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वालेन्द्र शाह अग्रस्थानमा रहेका छन्।
हालसम्मको मतगणनाअनुसार शाहले ४७ हजार ७ सय ७९ मत प्राप्त गरेका छन्। उनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार के.पी. शर्मा ओलीले १२ हजार ६ सय ९९ मतसहित पछ्याइरहेका छन्। त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङले ७ हजार ५ सय ३५ मत प्राप्त गरेका छन्।
झापा–५ मा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट नेकपा (एमाले)का के.पी. शर्मा ओली ५२ हजार ३ सय १९ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेलले ११ हजार ७ सय ५९ मत ल्याएका थिए।

















