Logo

२३ फागुन,काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको चुनावको प्रारम्भिक नतिजाले नेपाली राजनीतिमा ऐतिहासिक र गहिरो परिवर्तनको सङ्केत दिएको छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ नजिक पुग्ने गरी अग्रता लिएको प्रारम्भिक रिपोर्टले देखाएको छ। समानुपातिक मतगणनाको प्रारम्भिक परिणामले पनि रास्वपाप्रति मतदाताको उत्साहजनक समर्थन देखाएको छ।

यो चुनावको सबैभन्दा रोचक पक्ष भनेको दशकौँदेखि नेपाली राजनीतिमा प्रभुत्व जमाएका शीर्ष नेताहरू नै पराजयको जोखिममा परेको तथ्य हो। प्रारम्भिक मतगणनाले नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक अन्य धेरै प्रमुख दलका शीर्ष नेताहरूको जित्ने सम्भावना कमजोर बन्दै गएको संकेत दिएको छ। सुरक्षित क्षेत्र खोज्दै रुकुम पुगेका प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा जित हासिल गर्न सफल भएका छन्।

मतगणना जारी रहँदा नेकपा एमालेका के.पी. शर्मा ओली, नेपाली कांग्रेसका गगन थापा, राप्रपाका राजेन्द्र लिङदेन, मधेशवादी दलका उपेन्द्र यादव र सीके राउत लगायतका नेताहरू रास्वपाका उम्मेदवारभन्दा निकै पछाडि देखिएका छन्। यसले मतदाताले पुराना राजनीतिक नेतृत्वप्रति कडा सन्देश दिएको स्पष्ट संकेत दिन्छ।

दशकौँदेखि सत्ताको केन्द्रमा रहेका नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेशकेन्द्रित दलहरू यस चुनावबाट गम्भीर धक्का पाएका छन्। ती दलहरू केवल सिट सङ्ख्यामा मात्र नभई राजनीतिक प्रभाव र जनविश्वासको हिसाबले पनि खुम्चिने अवस्थामा पुगेका छन्।

संविधानले व्यवस्था गरेको मिश्रित निर्वाचन प्रणालीले एउटै दललाई स्पष्ट बहुमत ल्याउन कठिन हुने र त्यसले राजनीतिक अस्थिरता निम्त्याउने भन्ने बहस लामो समयदेखि चल्दै आएको थियो। तर, प्रारम्भिक परिणामले यस बहसलाई चुनौती दिएको देखिन्छ। रास्वपा एकल बहुमततर्फ उन्मुख देखिँदा नेपालको राजनीतिक शक्ति सन्तुलन नै फेरिन सक्ने संकेत प्राप्त भएको छ।

रास्वपा छोटो समयमै वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाएको देखिन्छ। २०७९ को प्रतिनिधिसभा चुनावभन्दा पाँच महिनाअघि स्थापना भएको रास्वपाले त्यस बेलामा २१ सिट जितेर ध्यान खिचेको थियो। तर तीन वर्ष नपुग्दै भएको अहिलेको चुनावमा भने यसले असाधारण जनसमर्थन हासिल गरेको छ।

विश्लेषकहरूका अनुसार यो परिणामको मुख्य कारण केवल रास्वपाको उदय मात्र होइन। बरु, लामो समयदेखि सत्ताको ‘म्युजिकल चेयर’ जस्तो देखिएको सत्ता परिवर्तन, भ्रष्टाचारका आरोप, दण्डहीनता, राज्य संस्थाहरूको दलीयकरण र शासनप्रति बढ्दो जननिराशा जस्ता कारणहरूले पुराना दलहरू प्रति वितृष्णा बढाएको देखिन्छ।

यसपटकको चुनावमा अर्को महत्त्वपूर्ण पक्ष भनेको काठमाण्डौ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको प्रभाव हो। यसका साथै मधेशी समुदायमा पहिलोपटक मधेशी प्रधानमन्त्री बन्न सक्ने सम्भावनाले पनि राजनीतिक रोमाञ्चना सिर्जना गरेको छ। यही उत्साह र परिवर्तनको चाहनाले मतदातालाई नयाँ विकल्पतर्फ आकर्षित गरेको बुझिएको छ।

यद्यपि, केही विश्लेषकहरूले सामाजिक सञ्जाल र सूचना प्रविधिको तीव्र विस्तारले जनमत निर्माणमा अस्वाभाविक प्रभाव परेको तर्क गर्छन्। तर, तीन दशकभन्दा बढी समय शासन सञ्चालन गर्दा पुराना दलहरूले देखाएको स्वेच्छाचारिता, संस्थागत भ्रष्टाचार र दण्डहीनता प्रति नागरिकको आक्रोश यस चुनावमा स्पष्ट देखिएको छ।

राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बरालले उज्यालोसँगको कुराकानीमा भने, “लामो समयदेखि सत्ता चलाउँदै आएका पुराना दलका केही नेताहरूले अपेक्षाअनुसार काम गर्न सकेनन् वा स्वार्थ केन्द्रित राजनीतिमा अल्झिए। उनीहरूका लागि यो परिणाम नागरिकको दण्डजस्तै सन्देश बनेको छ। जनमुखी कार्यक्रम, उत्तरदायित्व र सुशासन नदिने नेतृत्वलाई नागरिकले अन्ततः दण्डित गर्छन् भन्ने स्पष्ट सङ्केत यसले दिएको छ।”

यसरी, प्रारम्भिक नतिजाले नेपाली राजनीतिमा नयाँ शक्ति केन्द्रको उदय, पुराना दलहरूको गिरावट र मतदाताको बदलिँदो प्राथमिकताहरूको स्पष्ट संकेत दिएको छ। आगामी दिनमा मतगणना सम्पन्न भएपछि नेपालमा राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार