२३ फाल्गुण, काठमाडौं । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आशिष गजुरेलले सानदार जित दर्ता गर्दै स्थापित राजनीतिक शक्तिहरूलाई स्तब्ध पारेका छन् ।
आइतबार दिउँसो सार्वजनिक अन्तिम मतपरिणाम अनुसार गजुरेलले १७ हजार ९४० मत प्राप्त गरी आफ्ना निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार राजन दाहाललाई ३ हजार १६० मतान्तरले पराजित गरेका हुन् । पराजित दाहालले १४ हजार ७८० मतमा चित्त बुझाउनुपरेको छ ।
यस क्षेत्रमा पुराना दलहरूको उपस्थिति निकै कमजोर देखिएको छ । नेकपा एमालेका उम्मेदवार मनोज जंग थापा ११ हजार ६०६ मतका साथ तेस्रो स्थानमा समेटिएका छन् भने नेपाली कांग्रेसकी सुशीला थिङले जम्मा ६ हजार ७६० मत मात्र प्राप्त गर्न सकेकी छन् । सिन्धुलीको यो नतिजाले परम्परागत राजनीतिक किल्लाहरू भत्किँदै गएको र मतदाताले नयाँ अनुहारलाई प्राथमिकता दिएको स्पष्ट संकेत गरेको छ ।
निर्वाचनको अर्को रोचक पक्ष नेकपाभित्रकै आन्तरिक विद्रोह रह्यो। नेकपाबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका महेश्वर दाहालले जम्मा ५८६ मत मात्रै बटुल्न सफल भए । सिन्धुली २ मा रास्वपाको यो उदयले आगामी दिनमा जिल्लाको राजनीतिक समीकरणमा ठूलो फेरबदल ल्याउने निश्चित देखिएको छ ।

















