Logo

२३ फाल्गुण, काठमाडौं । नेपालको संसदीय राजनीतिका ‘भीष्म पितामह’ मानिने केपी शर्मा ओलीको अपराजित विरासतलाई तोड्दै झापा निर्वाचन क्षेत्र नम्बर ५ मा यसपटक एउटा यस्तो परकम्प गएको छ, जसको पराकम्पनले काठमाडौँको सत्ता गलियारासमेत हल्लाइदिएको छ ।

लामो समयदेखि नेकपा (एमाले) को किल्ला मानिँदै आएको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले ऐतिहासिक र अप्रत्याशित विजय हासिल गरेका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेनले ५२ हजार ६ सय ८ मत प्राप्त गरी संसद्को यात्रा सुनिश्चित गर्दा, हेभिवेट नेता ओली ३२ हजार ३ सय ५४ मतमा सीमित हुनुभएको छ। नेपाली राजनीतिको एउटा अध्याय सकिएर नयाँ अध्याय सुरु भएको सङ्केत गर्दै बालेनले करिब २० हजारको भारी मतान्तरले बाजी मार्नुभएको हो ।

यो निर्वाचन केवल हार र जितको तथ्याङ्क मात्र नभएर नेपाली मतदाताको फेरिँदो मनोविज्ञानको ऐना पनि बनेको छ । काठमाडौँ महानगरपालिकाको सफल नेतृत्वपछि संघीय राजनीतिमा होमिनुअघि मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका बालेनका लागि रास्वपाले भावी प्रधानमन्त्रीको कार्ड फालेको थियो । झापा–५ को नतिजाले उक्त कार्डले काम मात्र गरेको छैन, बरु परम्परागत राजनीतिक शक्तिको गढलाई पूर्ण रूपमा ध्वस्त पारेको छ। कांग्रेसका खगेन्द्र अधिकारी जम्मा १ हजार ८ सय २१ मतमा खुम्चनुले यस क्षेत्रमा दलीय सिन्डिकेट भत्किएर लहरको राजनीति हाबी भएको प्रस्ट पार्दछ ।

अचम्मको कुरा त के छ भने, जुन क्षेत्रबाट ओलीले दशकौँदेखि नेपाली राजनीतिलाई मार्गदर्शन गरिरहनुभएको थियो, त्यहीँ बालेन जस्ता युवा र वैकल्पिक धारको प्रवेशलाई जनताले सहर्ष स्वीकार गरेका छन् । पहिलो प्रयासमै विरासत बोकेका नेतालाई पराजित गर्दै बालेनले संसदीय यात्रा तय गर्नुलाई राजनीतिक विश्लेषकहरूले एउटा ठूलो उलटफेर मानेका छन् ।

यो जितले संसद्मा युवा आवाजको प्रतिनिधित्व मात्र बढाएको छैन, बरु पुराना शक्तिहरूलाई आत्मसमीक्षा गर्न बाध्य तुल्याएको छ। झापाबाट सुरु भएको यो लहरले आगामी दिनमा देशको राजनीतिक समीकरण र नेतृत्वको स्वरूप कस्तो हुनेछ भन्ने स्पष्ट मार्गचित्र कोरिदिएको छ ।


सम्बन्धित समाचार