Logo

२३ फाल्गुण, काठमाडौं । चितवनको कालिका नगरपालिकामा शनिबार भएको अटो रिक्सा दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् ।

शक्तिखोर-उपरदाङगढी सडकखण्डको वडा नम्बर ९ मा अटो अनियन्त्रित भई नालीमा खस्दा उक्त भयावह दुर्घटना भएको हो । प्रहरीका अनुसार उपरदाङगढीबाट शक्तिखोरतर्फ ओरालो झर्दै गरेको बाप्र ०६-००१ ह ०३१५ नम्बरको अटो रिक्सा अचानक सडकबाट चिप्लिएर नालीमा पछारिएको थियो ।  दुर्घटना लगत्तै उद्धार गरी अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा चारै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेहरूमा अटो चालक राप्ती नगरपालिका–९ का ३९ वर्षीय पूर्णबहादुर विक, राप्ती–८ की ५६ वर्षीया बिष्णुकुमारी तामाङ, राप्ती–९ की २२ वर्षीया बिनी तामाङ र सोही स्थानका ५५ वर्षीय तिलक तामाङ रहेका छन् । दुर्घटनामा राप्ती–९ की ५३ वर्षीया चिनिकुमारी गुरुङ गम्भीर घाइते भएकी छिन् । उनको हाल भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ओरालो बाटोमा अटो आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, प्राविधिक गडबडी वा तीव्र गति के कारणले दुर्घटना भयो भन्नेबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ । पछिल्लो समय पहाडी र ग्रामीण सडकहरूमा क्षमताभन्दा बढी यात्रु बोक्ने र तीव्र गतिका कारण यस्ता दुर्घटनाहरू बढ्दै गएको भन्दै स्थानीय प्रशासनले थप सचेतना अपनाउन आग्रह गरेको छ ।


सम्बन्धित समाचार