२४ फाल्गुण, काठमाडौं । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् भन्ने उखान रुकुम पश्चिमको चुनावी नतिजाले चरितार्थ गरिदिएको छ ।
विगतका चारवटा निर्वाचनमा जनार्दन शर्मालाई संसद्को यात्रा तय गराउन मुख्य चुनावी कमान्डर र ब्याकबोन बनेर खटिएका गोपाल शर्मा अनलले यसपटक आफ्नै पूर्वसार्गीलाई पराजित गर्दै इतिहास रचेका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अनलले २१ हजार ६०९ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा सानदार जित हासिल गर्दा जनार्दन शर्मा भने निकै पछि पर्दै तेस्रो स्थानमा खुम्चिएका छन् ।
लामो समय माओवादी आन्दोलनको नेतृत्व गरेका जनार्दन शर्मा यसपटक प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट चुनावी मैदानमा उत्रिएका थिए । पाँचौँ पटक जित निकाल्ने दाउमा रहेका शर्माले १४ हजार ३४६ मत मात्रै प्राप्त गरे । उनलाई दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार राजु केसीले समेत उछिनिएपछि तेस्रो स्थानमा पुगेका हुन् ।
उनले १६ हजार ६६१ मत ल्याएका छन् । कम्युनिस्ट विरासत जोगाउने र जनार्दनले विचार छोडेको आरोप लगाउँदै चुनावी मैदानमा होमिएका अनलको पक्षमा मतदाताले बलियो साथ दिएका छन् ।
२०७४ सालमा प्रदेशसभा सदस्य र २०७८ मा कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री भई कार्यकारी अनुभव बटुलिसकेका गोपाल शर्माका लागि सङ्घीय संसद्को यो पहिलो यात्रा हो । विद्यार्थी राजनीतिबाट उदाएका र तीन दशकभन्दा लामो राजनीतिक संघर्ष गरेका शर्मा अब रुकुमको विकास र कम्युनिस्ट आन्दोलनको नयाँ नेतृत्वकर्ताका रूपमा केन्द्रमा देखिनेछन् ।
विजयपछि उनले रुकुमेली जनताको विश्वासप्रति इमान्दार रहने प्रतिबद्धता व्यक्त गर्दै विकासका अधुरा काम पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताएका छन् ।

















