Logo

२४ फाल्गुण, काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार जित हासिल गर्दै राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरिदिएको छ ।

आइतबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार जगदीश खरेलले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै भारी मतान्तरले विजयी झण्डा गाड्नुभएको हो । खरेलले कुल ३९ हजार ४९१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी मानिएका नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जन केबल ७ हजार ४२० मतमा सीमित हुनुभएको छ ।

विजयी खरेल र दोस्रो स्थानका महर्जनबीचको ३२ हजारभन्दा बढीको यो मतान्तरले यस क्षेत्रमा रास्वपाको लहर कति शक्तिशाली थियो भन्ने प्रस्ट पारेको छ ।

निर्वाचनको रोचक पक्ष त के छ भने, स्थापित भनिएका दलका उम्मेदवारहरूले समेत न्युन मतमा चित्त बुझाउनुपरेको छ । उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकार ५ हजार ५४७ मतका साथ तेस्रो स्थानमा रहँदा, एमालेका प्रेमबहादुर महर्जनले ४ हजार ५३६ मत मात्रै जोड्न सफल हुनुभयो ।

यस्तै, राप्रपाका रघुवरराज थापाले १ हजार ७६० र नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र अमात्यले १ हजार २१७ मत प्राप्त गर्नुभएको छ। श्रम संस्कृति पार्टीका सरोज राईको भागमा ६०८ मत पर्दा नेमकिपाकी चिरी मैया महर्जनले २०७ मत पाउनुभयो। चुनावी मैदानमा रहेका स्वतन्त्र उम्मेदवार उमङ्ग केसी र माओवादीका अष्टराज बज्राचार्यले त क्रमशः ९९ र ८७ मत मात्रै पाउँदै चुनावी दौडको अन्तिमतिर खुम्चिनुभएको छ।

ललितपुरको यो चुनावी नतिजाले परम्परागत राजनीतिक शक्ति सन्तुलनलाई पूर्णतः उथलपुथल पारिदिएको छ । मतदाताले यसपटक नयाँ अनुहार र वैकल्पिक शक्तिलाई यसरी पत्याए कि, पुराना दलका प्रभावशाली नेताहरूले समेत हजारको आँकडा पार गर्न निकै संघर्ष गर्नुपरेको देखिन्छ ।
यो जितसँगै जगदीश खरेलले ललितपुर–२ को प्रतिनिधित्व गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको छ, जसलाई राजनीतिक विश्लेषकहरूले मतदाताको परिवर्तनप्रतिको तीव्र चाहनाको रूपमा व्याख्या गरेका छन् ।


सम्बन्धित समाचार