Logo

२४ फाल्गुण, काठमाडौं । धरान उपमहानगरपालिकाको नेतृत्व सम्हालिरहनुभएका चर्चित राजनीतिज्ञ हर्क साम्पाङले अब सङ्घीय संसद्को यात्रा तय गर्नुभएको छ ।

आफ्नै नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीबाट चुनावी मैदानमा उत्रिनुभएका साम्पाङले सुनसरी क्षेत्र नम्बर १ मा सानदार जित हासिल गर्नुभएको हो । आइतबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार साम्पाङ ८ हजार ४९२ को फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ। उहाँले कुल ३५ हजार ७४१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ २७ हजार २४९ मतमा सीमित हुनुभएको छ।

प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन धरानको मेयर पदबाट राजीनामा दिनुभएका साम्पाङको यो जितले मधेस र पहाडको संगमस्थल सुनसरीमा नयाँ राजनीतिक लहर सिर्जना गरेको छ । विशेषगरी जेनजी आन्दोलनपछि श्रम र संस्कृतिको जगमा नयाँ दल दर्ता गरेर चुनावी प्रतिस्पर्धामा होमिनुभएका उहाँलाई स्थानीयले विकास र परिवर्तनको संवाहकका रूपमा अनुमोदन गरेका छन् ।

यस क्षेत्रमा नेकपा एमालेका टिका मांगलेनले ६ हजार ३३१ र नेकपाका सूर्य भट्टराईले ६ हजार २५८ मत मात्र प्राप्त गर्नुभयो, जसले गर्दा स्थापित पुराना शक्तिहरू यहाँ निकै कमजोर देखिएका छन् ।

पार्टी दर्ता भएको केही महिनामै साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ दुई सिट जितेर राष्ट्रिय राजनीतिमा आफ्नो बलियो उपस्थिति जनाएको छ । साम्पाङसँगै पार्टीका महासचिव आरेन राईले खोटाङबाट जित निकाल्नुभएको छ ।

धरानको खानेपानी समस्या समाधानका लागि ढुङ्गा बोकेर श्रमको सम्मान सिकाउने साम्पाङ अब संसद्‌मा श्रमजीवी वर्गको आवाज बुलन्द गर्ने तयारीमा हुनुहुन्छ । यो विजयले नेपाली राजनीतिमा सादगी र कार्यशैलीको नयाँ मानक स्थापित हुने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै