२४ फाल्गुण, काठमाडौँ । गत भदौको बीभत्स जेनजी विद्रोहमा नेपाली किशोरहरूको रगत बगाउने र बगाउन आदेश दिने कोही पनि अब कानुनी कारबाहीबाट उम्किन नपाउने भएका छन् ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो विस्तृत प्रतिवेदन बुझाउँदै बानेश्वर हत्याकाण्डका दोषीहरूलाई तत्काल फौजदारी कारबाही गर्न सिफारिस गरेको हो । प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष कार्कीले अत्यन्तै कडा शैलीमा भन्नुभयो, ‘हामीले गोली हान्ने, हान्न लगाउने र त्यो हिंसा रोक्न सक्ने भएर पनि नरोक्ने सबैलाई कारबाहीको दायरामा ल्याउन स्पष्ट सिफारिस गरेका छौँ’ ।
बानेश्वरको सडकमा प्रहरीको गोली लागेर २१ जना कलिला युवाहरूले ज्यान गुमाएको घटनालाई आयोगले राज्यको अक्षम्य अपराधको रूपमा चित्रण गरेको छ । निर्दोष किशोरहरूलाई सहिद बनाउने परिस्थिति सिर्जना गर्नेहरूलाई कडाभन्दा कडा सजाय हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो, कार्कीले थप्नुभयो ।
प्रतिवेदन बुझाउन भएको ढिलाइलाई निर्वाचनको नतिजासँग जोडेर गरिएका अड्कलबाजीहरूलाई खण्डन गर्दै उहाँले घटनाको गहिराइ र प्रमाण सङ्कलनमा समय लागेकाले मात्र ढिला भएको स्पष्ट पार्नुभयो। यो कार्य देशका लागि एउटा ठूलो जिम्मेवारी भएको र यसले आफूलाई आत्मसन्तुष्टि दिएको उहाँको भनाइ थियो ।

















