Logo

२४ फाल्गुण, काठमाडौं । चुनावी सरगर्मी र तीव्र प्रतिस्पर्धाका बीच सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार युवराज दुलाल शरदले जितको झण्डा गाड्नुभएको छ ।

आइतबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार दुलालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वंशलाल तामाङलाई २ हजार ७२४ मतान्तरले पराजित गर्दै संसद्को यात्रा तय गर्नुभएको हो । देशभर रास्वपाको लहर चलिरहँदा सिन्धुपाल्चोकको यस क्षेत्रमा भने कम्युनिस्ट शक्तिले आफ्नो वर्चस्व कायमै राख्न सफल भएको छ।

विजयी दुलालले कुल २१ हजार ५७२ मत प्राप्त गर्दा कांग्रेसका तामाङले १८ हजार ८४८ मतमा चित्त बुझाउनुपरेको छ। यसअघि प्रभावशाली मानिएका नेकपा एमालेका हेभिवेट उम्मेदवार शेरबहादुर तामाङ भने यसपटक तेस्रो स्थानमा खुम्चिनुभएको छ । पूर्वमन्त्री समेत रहनुभएका तामाङले १५ हजार ५१४ मत पाउनुभयो। त्यस्तै, नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अजय श्रेष्ठ १३ हजार ८१७ मतका साथ चौथो स्थानमा सीमित बन्नुभएको छ।

पूर्वमन्त्री र कुशल सङ्गठकको पहिचान बनाउनुभएका युवराज दुलालको यो जितले सिन्धुपाल्चोकको राजनीतिमा नेकपाको पकडलाई थप मजबुत बनाएको विश्लेषण गरिएको छ । विकासका एजेन्डा र स्थानीय स्तरमा बलियो प्रभावका कारण मतदाताले दुलाललाई विश्वास गरेको देखिन्छ। यो निर्वाचन नतिजासँगै सिन्धुपाल्चोक-२ मा पुराना हस्तीहरूलाई पछि पार्दै दुलालले सङ्घीय संसद्‌मा यस क्षेत्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी पाउनुभएको छ।


सम्बन्धित समाचार