Logo

२४ फाल्गुण, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणनाले मुलुकको राजनीतिक दिशामा आएको सुनामीलाई थप

स्पष्ट पारेको छ ।
निर्वाचन आयोगले आइतबार अपराह्नसम्म सार्वजनिक गरेको ४४ लाख १ हजार ९३३ मतको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इतिहासकै सबैभन्दा ठूलो अग्रता कायम गरेको छ ।

कुल गणना भएको मतको झण्डै आधा हिस्सा अर्थात् ४९ दशमलव ३४ प्रतिशत मत एक्लै बटुल्दै रास्वपाले २१ लाख ७२ हजार १९ मतका साथ आफ्नो वर्चस्व कायम गरेको हो । यो नतिजाले परम्परागत राजनीतिक शक्तिहरूलाई निकै पछाडि धकेल्दै मतदाताले पूर्ण रूपमा वैकल्पिक शक्तिलाई अनुमोदन गरेको संकेत गरेको छ ।

मुलुकका पुराना र ठूला भनिएका दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको अवस्था यसपटक समानुपातिकतर्फ निकै दयनीय देखिएको छ । कांग्रेसले हालसम्म ७ लाख ४२ हजार ९०४ मत (१६ दशमलव ८८ प्रतिशत) प्राप्त गर्दा एमाले ६ लाख ३२ हजार १६२ मत (१४ दशमलव ३६ प्रतिशत) मा खुम्चिएको छ । यी दुवै दलको मत जोड्दा पनि रास्वपाले प्राप्त गरेको मतको आधा पनि पुग्न सकेको छैन, जसले राजनीतिक वृत्तमा ठूलो हलचल ल्याइदिएको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले २ लाख ९४ हजार ९०० मत (६ दशमलव ७० प्रतिशत) प्राप्त गरी चौथो स्थान ओगटेको छ ।

अन्य दलहरूको सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ५८ हजार ८३० मत (३ दशमलव६१ प्रतिशत) प्राप्त गर्दै राष्ट्रिय दलको हैसियत कायम राख्ने सङ्घर्ष जारी राखेको छ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि उल्लेख्य सुधार गर्दै १ लाख २ हजार ६६० मत (२ दशमलव ३३ प्रतिशत) प्राप्त गरेको छ।

मतगणनाको यो प्रारम्भिक तर व्यापक रुझानले आगामी संसद्‌मा रास्वपाको उपस्थिति केवल निर्णायक मात्र नभई पूर्ण बहुमतको नजिक पुग्न सक्ने आकलन गरिएको छ । बाँकी मतको गणना भइरहँदा अन्य दलहरूले आफ्नो अस्तित्व जोगाउनै मुस्किल परिरहेको देखिन्छ ।


सम्बन्धित समाचार
भर्खरै