२४ फागुन,सेढवा । पर्साको जिराभवानी गाउँपालिका क्षेत्रमा रहेको गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दीको राजीनामा माग्दै स्थानीय बासिन्दाले बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ गरेका छन्।
आइतबार दिउँसो करिब २ बजे सेढवा, बसन्तपुर, काठमाडौंटोल, भवानीपुर, महादेवपट्टी, हरैया र सुपौली लगायतका गाउँका नागरिकहरूले वन कार्यालय घेराउ गर्नुका साथै गादीमाई साझेदारी वन उपभोक्ता समूहको कार्यालयमा तालाबन्दी गरेका हुन्।
स्थानीय बासिन्दाका अनुसार दाउरा, घाँस तथा घर लिपपोतका लागि माटो लिन जाँदा वा पशुचौपायालाई लिएर गोठालो जाँदा समूहका अध्यक्ष गद्दी तथा कार्यालय सहयोगी सोयालाल साह रौनियार र समिन गद्दीले अभद्र व्यवहार गर्ने, अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गर्ने गरेको गुनासो छ।
जिराभवानी गाउँपालिकाका कार्यपालिका सदस्य सरोज चौरसियाको नेतृत्वमा गरिएको आन्दोलनका क्रममा प्रदर्शनकारीहरू कार्यालय पुगेका बेला समूहका पदाधिकारीहरू भने फरार भएको बताइएको छ।
स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, प्रहरी चौकी हरैया तथा शस्त्र प्रहरी बेस क्याम्प सुवर्णपुरबाट सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए।
कार्यपालिका सदस्य चौरसियाका अनुसार डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजनल वन अधिकृत मन्जुर अहमद र समूहका अध्यक्ष गद्दीको मिलेमतोमा लामो समयदेखि राष्ट्रिय वनबाट अवैध काठ तस्करी भइरहेको आरोप स्थानीयले लगाएका छन्।
यसैबीच फागुन १४ गते साँझ करिब ७ बजे तस्करीको काठसहित एउटा ट्र्याक्टर नियन्त्रणमा लिइएको थियो। प्र २–०३–००१ त ३८०० नम्बरको ट्र्याक्टर जिराभवानी गाउँपालिका–३ सहजानपुरबाट लोपन्मुख जातका सतिसाल र सिसौको काठसहित नियन्त्रणमा लिएर प्रहरी चौकी हरैयामा बुझाइएको प्रहरीले जनाएको छ।
बसन्तपुर सब–डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत मोवारक अलीले जंगलमा छपान गरिएको काठ नै समितिका अध्यक्ष र अन्य पदाधिकारीहरूले अवैध रूपमा कटानी गरी बिक्री गरेको दाबी गरे। अध्यक्ष गद्दीमाथि कारबाही गर्न डिभिजन वन कार्यालय पर्सामा पटक–पटक पत्र पठाए पनि हालसम्म कुनै सुनुवाइ नभएको उनले बताए।
यता डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजनल वन अधिकृत मन्जुर अहमदले भने उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रतिक्रिया दिएका छन्।

















