Logo

२४ फाल्गुण, काठमाडौं । मधेस राजनीतिको एउटा चर्चित र प्रभावशाली नाम डा। सीके राउतका लागि यसपटकको निर्वाचन अप्रत्याशित र नमीठो सावित भएको छ ।

छोटो समयमै मधेसको वैकल्पिक शक्तिका रूपमा उदाएको जनमत पार्टीका अध्यक्ष राउतको संसदीय यात्रामा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ब्रेक लगाइदिएको छ। सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा भएको कडा प्रतिस्पर्धामा रास्वपाका उम्मेदवार रामजी यादवले भारी मतान्तरसहित जित हासिल गरेपछि राउत संसद् छिर्ने दौडबाट बाहिरिनुभएको हो ।

निर्वाचनको अन्तिम मतपरिणाम अनुसार रास्वपाका रामजी यादव २८ हजार ४०४ मतका साथ विजयी हुनुभएको छ । मधेसका पुराना र नयाँ शक्ति दुवैलाई पछि पार्दै यादवले घण्टीको दबदबा कायम गर्नुभएको हो। यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उमेशकुमार यादव १४ हजार २६३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ ।

अघिल्लो निर्वाचनमा निकै चर्चामा रहनुभएका जनमत पार्टीका अध्यक्ष सीके राउत भने यसपटक केबल ९ हजार ८८० मतमा खुम्चिँदै तेस्रो स्थानमा सीमित हुनुभएको छ ।

राउतको यो पराजयलाई राजनीतिक वृत्तमा मधेसको बदलिँदो जनमतका रूपमा हेरिएको छ। आफ्नै गढ मानिने क्षेत्रमा झण्डै तेब्बर मतको अन्तरले पराजित हुनु राउत र उहाँको दलका लागि ठूलो धक्का हो। रास्वपाका रामजी यादवको जितले मधेसका मुद्दा र राजनीतिमा परम्परागत क्षेत्रीय दलहरूभन्दा नयाँ राष्ट्रिय दलहरूप्रति मतदाताको आकर्षण बढेको संकेत गरेको छ।

यो नतिजासँगै सप्तरी–२ बाट संसद्को यात्रा तय गर्ने सौभाग्य रामजी यादवले पाउनुभएको छ भने राउतको संसदीय पाइला यसपटकका लागि रोकिएको छ।


सम्बन्धित समाचार
भर्खरै