२४ फागुन, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै जाँदा मधेस प्रदेशको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन देखिएको छ। आठ जिल्ला रहेको मधेस प्रदेशका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ३० सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० विजयी हुँदै ऐतिहासिक सफलता हासिल गरेको छ।
यो परिणामले मधेसको राजनीतिमा दशकौँदेखि प्रभाव जमाउँदै आएका परम्परागत दलहरूको वर्चस्व कमजोर बनेको संकेत दिएको छ। मधेस प्रदेशमा एक सिट मात्रै नेपाली कांग्रेस ले जितेको छ भने एक सिटको मतपरिणाम अझै सार्वजनिक हुन बाँकी रहेको छ।
धनुषा क्षेत्र नम्बर–१ मा मतगणनासम्बन्धी विवादका कारण निर्वाचन आयोग ले परिणाम सार्वजनिक गर्न रोक लगाएको छ। तर प्रारम्भिक मतगणनामा उक्त क्षेत्रमा पनि रास्वपाकै अग्रता रहेको बताइएको छ।
फागुन २१ गते सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट र पर्सा जिल्लाका सबै चार–चार निर्वाचन क्षेत्रमा रास्वपाले विजयी हासिल गरेको छ। बारामा पनि तीन सिट रास्वपाले जित्दा एक सिट कांग्रेसको पोल्टामा गएको छ। धनुषाका चारमध्ये तीन क्षेत्रमा रास्वपा विजयी भएको छ।
पर्साका चारै सिट रास्वपाको कब्जा
पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाले स्पष्ट जीत हासिल गरेको छ।
पर्सा–१ मा रास्वपाका बुद्धिप्रसाद पन्थ ‘हरि’ २७ हजार २७४ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले का प्रदीप यादवले १३ हजार ३० मत प्राप्त गरे।
पर्सा–२ मा रास्वपाका सुशील कुमार साह कानु ३० हजार ७४० मतसहित विजयी भए। यहाँ कांग्रेसका अजय कुमार चौधरी ११ हजार ८९० मतसहित दोस्रो स्थानमा रहे।
त्यस्तै पर्सा–३ मा रास्वपाका रमाकान्त प्रसाद चौधरी २९ हजार ६७९ मत ल्याउँदै विजयी भए भने कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी १६ हजार ३६६ मतसहित दोस्रो बने।
पर्सा–४ मा रास्वपाका टेकबहादुर साखे २८ हजार ६०० मतसहित निर्वाचित भए। कांग्रेसका रमेश रिजाल १२ हजार ५३४ मतसहित दोस्रो स्थानमा रहे।
बारामा पनि रास्वपाको दबदबा
बारा जिल्लाका चारमध्ये तीन क्षेत्रमा रास्वपा विजयी भएको छ।
बारा–१ मा रास्वपाका गणेश भिमल ३९ हजार ९९८ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका शम्भुबहादुर गुरुङले १४ हजार २२३ मत ल्याए।
बारा–२ मा रास्वपाका चन्दन कुमार सिंह ३५ हजार ५९० मतसहित निर्वाचित भए भने जनता समाजवादी पार्टी नेपाल का रामकिशोर प्रसाद यादव १४ हजार १९६ मतसहित दोस्रो बने।
बारा–३ मा रास्वपाका अरविन्द साह ४० हजार ६९६ मतसहित विजयी भए। कांग्रेसका फरमुल्लाह मन्सूर १० हजार ५२ मतसहित दोस्रो स्थानमा सीमित भए।
बारा–४ मा रास्वपाका रहबर अन्सारी ४१ हजार २०० मतसहित विजयी हुँदा एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ ११ हजार ६३९ मतसहित दोस्रो भए।
सप्तरीका चारै क्षेत्रमा रास्वपा
सप्तरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाले जीत निकालेको छ।
सप्तरी–१ मा रास्वपाकी पुष्पाकुमारी चौधरी ३८ हजार १९५ मतसहित विजयी भइन्। स्वाभिमान पार्टीका सुमित कुमार ७ हजार ८४७ मतसहित दोस्रो बने।
सप्तरी–२ मा रास्वपाका रामजी यादव २८ हजार ४०४ मतसहित निर्वाचित भए। जसपा नेपालका उमेश यादव १४ हजार २७३ मतसहित दोस्रो भए भने जनमत पार्टीका सीके राउत ९ हजार ८८० मतसहित तेस्रो स्थानमा रहे।
सप्तरी–३ मा रास्वपाका अमरकान्त चौधरी ३२ हजार ८७५ मतसहित विजयी भए। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव १५ हजार २३९ मतसहित दोस्रो भए।
सप्तरी–४ मा रास्वपाका सीतराम साह ३६ हजार ४१२ मतसहित विजयी भए। कांग्रेसका तेजुलाल चौधरी १३ हजार १०३ मतसहित दोस्रो स्थानमा रहे।
सिरहाका सबै सिट रास्वपाको पोल्टामा
सिरहा जिल्लाका चारवटै क्षेत्रमा पनि रास्वपाले विजय हासिल गरेको छ।
सिरहा–१ मा रास्वपाका बब्लु यादव गुप्ता ४१ हजार ३२२ मतसहित निर्वाचित भए भने कांग्रेसका रामसुन्दर चौधरी ९ हजार ७८४ मतसहित दोस्रो बने।
सिरहा–२ मा रास्वपाका शिवशंकर यादव ३९ हजार ५६१ मतसहित विजयी हुँदा कांग्रेसका रामसन्द्री यादव १२ हजार ८०० मतसहित दोस्रो रहे।
सिरहा–३ मा रास्वपाका शम्भु कुमार यादव ३२ हजार ९४९ मतसहित विजयी भए भने हिमालय दलका लीलानाथ श्रेष्ठ १० हजार १२६ मतसहित दोस्रो स्थानमा रहे।
सिरहा–४ मा रास्वपाका तपेश्वर यादव ३६ हजार २१० मतसहित निर्वाचित भए। नेकपाका अजयशंकर नायक ७ हजार ९७९ मतसहित दोस्रो भए।
धनुषामा तीन सिट रास्वपा, एकको परिणाम रोकियो
धनुषा क्षेत्र नम्बर–१ को परिणाम विवादका कारण रोकिएको छ।
धनुषा–२ मा रास्वपाका रामविनोद यादव ४१ हजार ६३७ मतसहित विजयी भए। कांग्रेसका दिनेश प्रसाद यादव परसैला १० हजार १९८ मतसहित दोस्रो भए।
धनुषा–३ मा रास्वपाका मनिष झा ४३ हजार ९८८ मतसहित विजयी भए। कांग्रेसका विमलेन्द्र निधि १६ हजार ६५२ मतसहित दोस्रो स्थानमा सीमित भए।
धनुषा–४ मा रास्वपाका राजकिशोर महतो ४८ हजार २७० मतसहित विजयी भए। कांग्रेसका महेन्द्र यादव १५ हजार ८०९ मतसहित दोस्रो बने भने एमालेका रघुवीर महासेठ ११ हजार ५२९ मतसहित तेस्रो स्थानमा रहे।
सर्लाहीमा पनि रास्वपाको क्लिन स्वीप
सर्लाहीका चारवटै क्षेत्रमा रास्वपा विजयी भएको छ।
सर्लाही–१ मा रास्वपाकी नितिमा भण्डारी कार्की ४६ हजार १८१ मतसहित विजयी भइन्। कांग्रेसका शम्भुलाल श्रेष्ठ ७ हजार ८७१ मतसहित दोस्रो भए।
सर्लाही–२ मा रास्वपाका रविन महतो ४२ हजार ५१२ मतसहित निर्वाचित भए। नेकपाका महेन्द्र राय यादव ८ हजार ५२३ मतसहित दोस्रो भए।
सर्लाही–३ मा रास्वपाका नरेन्द्र साह कलवार ४६ हजार ८९० मतसहित विजयी भए। नेकपाका नारायणकाजी श्रेष्ठ १३ हजार ३३८ मतसहित दोस्रो बने।
सर्लाही–४ मा रास्वपाका अमरेश कुमार सिंह ३५ हजार ६२८ मतसहित विजयी भए। कांग्रेसका गगन थापा २२ हजार ८३१ मतसहित दोस्रो स्थानमा सीमित भए।
महोत्तरीका चारै क्षेत्रमा रास्वपा
महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा पनि रास्वपाले विजय हासिल गरेको छ।
महोत्तरी–१ मा रास्वपाका प्रमोद कुमार महतो ३४ हजार ६३६ मतसहित विजयी भए भने नेकपाका गिरिराजमणि पोखरेल १२ हजार ६२४ मतसहित दोस्रो भए।
महोत्तरी–२ मा रास्वपाका दीपक कुमार साह ३२ हजार ७२२ मतसहित निर्वाचित भए। उनले जसपा नेपालका शरत सिंहलाई पराजित गरे।
महोत्तरी–३ मा रास्वपाका उज्जवलकुमार झा ३२ हजार ४१५ मतसहित विजयी भए। नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारी ५ हजार ९६९ मतसहित दोस्रो बने।
महोत्तरी–४ मा रास्वपाकी गौरी कुमारी ३० हजार १३२ मतसहित निर्वाचित भइन्। जसपा नेपालका सुरेन्द्र यादव ८ हजार ७४२ मतसहित दोस्रो भए।
रौतहटमा कांग्रेसको एकमात्र जीत
रौतहट जिल्लामा चारमध्ये तीन सिट रास्वपाले जितेको छ भने एक सिट कांग्रेसले जितेको छ।
रौतहट–१ मा रास्वपाका राजेश कुमार चौधरी २८ हजार ९४६ मतसहित विजयी भए। एमालेका अजय कुमार गुप्ता १० हजार ६९३ मतसहित दोस्रो बने।
रौतहट–२ मा कांग्रेसका मोहम्मद फिरदौस आलम २९ हजार ५२८ मतसहित विजयी भए। नेकपाका किरण कुमार साह १८ हजार ४४२ मतसहित दोस्रो रहे भने रास्वपाका शेख सागिर ९ हजार ३२५ मतसहित तेस्रो भए।
रौतहट–३ मा रास्वपाका रविन्द्र पटेल २७ हजार ३१८ मतसहित विजयी भए। जसपा नेपालका गोविन्द चौधरी ११ हजार ९५४ मतसहित दोस्रो भए।
रौतहट–४ मा रास्वपाका गणेश पौडेल ३६ हजार ८७६ मतसहित निर्वाचित भए। कांग्रेसका देवप्रसाद तिमलसेना १५ हजार ८६५ मतसहित दोस्रो स्थानमा रहे।
मधेसको राजनीतिमा नयाँ समीकरण
यस निर्वाचन परिणामले मधेस प्रदेशमा लामो समयदेखि प्रभाव जमाउँदै आएका मधेसवादी दल, कम्युनिष्ट र कांग्रेसको परम्परागत आधार कमजोर भएको देखाएको विश्लेषण भइरहेको छ।
विशेषगरी रवि लामिछाने नेतृत्वको रास्वपाले पहिलो पटक मधेसमा व्यापक जनसमर्थन प्राप्त गर्दै राष्ट्रिय राजनीतिमा नयाँ शक्ति बनेको संकेत दिएको छ।
धनुषा–१ को परिणाम सार्वजनिक भएपछि मधेस प्रदेशको अन्तिम राजनीतिक चित्र अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।

















