२५ फागुन, काठमाडौँ । अहिले काठमाण्डौ विश्वकै प्रदूषित शहरको तेस्रो नम्बरमा रहेको छ । वायु गुणस्तर कायम गर्ने ‘एअर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार बिहान साढे ७ बजेकाे समयमा काठमाण्डौको एक्यूआई १८९ सम्म पुगेकाे थियाे ।
पाकिस्तानको लाहोर ३०६ एक्यूआईसहित विश्वकै प्रदूषित शहरको पहिलो नम्बमा छ भने भारतको दिल्ली २०२ एक्यूआईसहित दोस्रो नम्बरमा छ ।
विश्व स्वास्थ सङ्गठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार एक्यूआई ४० भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको हुन्छ । १०१ देखि १५० सम्मलाई नै संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ ।
प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सरलगायत रोगको जोखिम बढ्छ ।
काठमाण्डौ उपत्यकाको वायु प्रदूषण हिजोदेखि बढेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्दै गएको हो ।
वायु प्रदूषण नियन्त्रणका लागि पूर्वतयारी अपनाउनुपर्ने वातावरण विभागको भनाइ छ । यसका लागि घरबाट निस्कने फोहरको उचित व्यवस्थापन, डढेलो नियन्त्रण, गाडीहरूको अवस्था जाँच, मापदण्डको कडाइका साथ कार्यान्वयन हुनुपर्छ ।

















