Logo

२५ फाल्गुण, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा चारवटा राजनीतिक दलले कानुनी रूपमा अनिवार्य मानिएको थ्रेसहोल्ड पार गरेका छन् ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले कूल सदर मतको ३ प्रतिशतको सीमा कटाएर समानुपातिक सिटका लागि आफ्नो स्थान सुरक्षित गरेका हुन् । आयोगका अनुसार रास्वपाले ३९ लाख ५० हजार ८१० मतका साथ अग्रता कायम गरिरहेको छ भने नेपाली कांग्रेसले १३ लाख ३० हजार १०१ र नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ७९ हजार ६२६ मत प्राप्त गरेका छन् ।

यता श्रम संस्कृति पार्टी भने २ लाख ८७ हजार ६४५ मतसहित थ्रेसहोल्डको नजिक पुगे पनि सिट सुनिश्चित गर्न अझै केही मतको संघर्ष गरिरहेको देखिन्छ ।

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत ११० जना सांसद चुनिनका लागि कूल खसेको १ करोड ९ लाख मतमध्ये सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रको मतगणना करिब सम्पन्न भइसकेको अवस्थामा आयोगले समानुपातिकतर्फको गणनालाई पनि तीव्र पारेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यही फागुन २७ गते बिहानसम्म सबै मत गणना सक्ने लक्ष्य राखिएको छ। गणना सकिएलगत्तै थ्रेसहोल्ड पार गर्ने दलहरूले प्राप्त गरेको मतका आधारमा उनीहरूले पाउने सांसद संख्याको बाँडफाँड गरिनेछ, जसले २७५ सदस्यीय प्रतिनिधिसभाको पूर्ण आकारलाई मूर्त रूप दिनेछ ।

मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएपछि आयोगले दलहरूलाई उनीहरूको प्राप्त सिट संख्या र समावेशी क्लस्टर बमोजिमका नामहरू सिफारिस गर्न पत्राचार गर्ने तयारी गरेको छ । दलहरूले यसअघि नै बुझाएको बन्दसूचीभित्रबाटै नाम सिफारिस गर्नुपर्नेछ भने आयोगले ती नामहरू तोकिएको क्लस्टरसँग मिले नमिलेको गहन रूपमा जाँचबुझ गर्नेछ । सबै कानुनी प्रक्रिया र रुजु गर्ने कार्य सम्पन्न गरी आगामी चैत ५ गतेभित्र निर्वाचित सांसदहरूलाई प्रमाणपत्र उपलब्ध गराउने कार्यतालिका आयोगले तय गरेको छ । यससँगै नयाँ प्रतिनिधिसभाको गठन प्रक्रियाले पूर्णता पाउने र नयाँ सरकार निर्माणको बाटो अझ सहज हुने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार