२५ फाल्गुण, काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना र परिणाम घोषणाको विषयलाई लिएर नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगको कार्यशैलीप्रति कडा आपत्ति जनाएको छ ।
आफ्ना उम्मेदवार मातृकाप्रसाद यादवले सर्वाधिक मत प्राप्त गरी विजयी भइसकेको अवस्थामा पनि आयोगले निर्वाचित भएको प्रमाणपत्र उपलब्ध नगराएको भन्दै नेकपाले यसलाई स्थापित कानुनी विधि र प्रक्रियाको ठाडो उल्लङ्घन भनेको छ । पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोग जस्तो संवैधानिक निकाय कुनै पनि राजनीतिक दबाबमा पर्न नहुने र विधिको शासनलाई अक्षुण्ण राख्नुपर्नेमा जोड दिनुभएको छ ।
विवादको चुरो राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजीसँग जोडिएको छ । निर्वाचन आयोगले गत फागुन १८ गते निर्वाचन ऐन, २०७४ बमोजिम साहको उम्मेदवारी बदर गर्ने निर्णय गरेको थियो। आयोगकै फागुन २२ गतेको निर्देशनअनुसार सबै उम्मेदवारका प्रतिनिधिहरूको रोहबरमा मतगणना सम्पन्न भई यादवको जित सुनिश्चित भइसकेको भए तापनि प्रमाणपत्र वितरणमा आलटाल हुनुले गम्भीर संशय पैदा गरेको नेकपाको ठहर छ। आयोगले भने उम्मेदवारी खारेजी विरुद्ध साहले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा विचाराधीन रहेकाले तत्काल आधिकारिक नतिजा सार्वजनिक गर्न नसकिएको संकेत गरेको छ ।
नेकपाले भने कानुनी रूपमा उम्मेदवारी नै नरहेको व्यक्तिको विषयलाई लिएर विजयी उम्मेदवारको प्रमाणपत्र रोक्नु न्यायसंगत नहुने तर्क अघि सारेको छ। रास्वपाका उम्मेदवारले धेरै मत पाएको देखिए पनि उम्मेदवारी खारेज भइसकेकाले कानुनी रूपमा यादव नै पहिलो स्थानमा रहेको दाबी विज्ञप्तिमा गरिएको छ ।

















