Logo

२५ फाल्गुण, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा आउने क्रमसँगै मुलुकको पूँजी बजारमा उत्साहजनक उछाल देखिएको छ ।

निर्वाचनपछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लगानीकर्ताहरूको उच्च आकर्षणका कारण ६ प्रतिशतको वृद्धि देखिएपछि आजका लागि कारोबार समय अगावै बन्द गरिएको छ । बजार खुल्नेबित्तिकै सुरु भएको वृद्धिको क्रमले एकाएक ‘सकारात्मक सर्किट ब्रेक’ को अवस्था निम्त्याएको हो, जसलाई बजार विश्लेषकहरूले नयाँ राजनीतिक स्थायित्व र सम्भावित आर्थिक सुधारको संकेतका रूपमा अर्थ्याएका छन् ।

नेप्सेमा आजको कारोबार सुरु भएको एक मिनेटमै सूचक ४ प्रतिशतले बढेपछि नेप्सेले २० मिनेटका लागि कारोबार स्थगित गरेको थियो। त्यसपछि खुलेको बजारमा पुनः खरिद चाप बढ्दा ५ प्रतिशतको वृद्धि भएर दोस्रो पटक सकारात्मक सर्किट लाग्यो, जसका कारण ४० मिनेटका लागि कारोबार रोकिएको थियो। तेस्रो पटक बजार खुल्दा पनि वृद्धिको बेग नरोकिएपछि नेप्से १६२.९३ अंकले बढेर ६ प्रतिशत पुग्यो र अन्ततः नेप्सेको नियमअनुसार सोमबारको बाँकी कारोबार पूर्ण रूपमा बन्द भयो।

छोटो समय मात्र कारोबार भए तापनि यस अवधिमा ५५ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बजारमा सूचीकृत कुल २५२ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने रिलायन्स स्पिनिङ मिल्सको मूल्यमा मात्र सामान्य गिरावट आएको छ। निर्वाचनमा नयाँ शक्ति र स्थिर सरकारको सम्भावना देखिएसँगै लगानीकर्ताको मनोबल उच्च हुनु नै आजको बजारमा देखिएको बुलिस प्रवृत्तिको मुख्य कारण मानिएको छ।


सम्बन्धित समाचार