Logo

२५ फाल्गुण, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुने क्रमसँगै यसपटकको संसद्मा युवाहरूको अभूतपूर्व र शक्तिशाली उपस्थिति देखिने निश्चित भएको छ ।

निर्वाचन आयोगको तथ्याङ्क र प्राप्त रुझानअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नै ४० वर्षमुनिका ५४ जना युवाहरूले संसद्को यात्रा तय गरेका छन् । विगतमा पाका नेताहरूको बाहुल्य रहने गरेको संसद्मा यसपटक नयाँ पुस्ताको यो प्रवेशले नीति निर्माण तहमा ऊर्जावान् परिवर्तनको संकेत गरेको छ । समानुपातिकतर्फको नामावली टुङ्गिएपछि युवा सांसदहरूको यो संख्या अझै बढ्ने देखिन्छ, जसमा सबैभन्दा ठूलो हिस्सा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले ओगटेका छन् ।

बालेनदेखि प्रशान्तसम्मको यात्रा

यसपटकको निर्वाचनमा नयाँ पुस्ताको आकर्षणको केन्द्र बनेको रास्वपाबाट ३६ वर्षीय बालेन शाहले झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै ऐतिहासिक रेकर्ड कायम गरे । युवाहरूको यो लहरमा ३० वर्षीया सोविता गौतम, २९ वर्षीया निशा डाँगी र ३६ वर्षीया तोसीमा कार्की जस्ता स्थापित अनुहारदेखि २५ वर्षीय प्रशान्त उप्रेती र २६ वर्षीय मनीष खनाल जस्ता कान्छा सांसदहरूसम्म समेटिएका छन् ।

रूपन्देहीमा विष्णु पौडेललाई हराउने २८ वर्षीय सुलभ खरेल र मोरङमा शेखर कोइरालालाई स्तब्ध पार्ने ३१ वर्षीया रुविना आचार्यले पनि युवा हस्तक्षेपको नयाँ मानक स्थापित गरेका छन् । रास्वपाबाट मात्रै अधिकांश युवा निर्वाचित हुँदा ३० वर्षीय रामजी यादव, ३४ वर्षीय सागर ढकाल र ३८ वर्षीय पुकार बम जस्ता अभियन्ताहरूको उपस्थिति पनि संसद्मा सुनिश्चित भएको छ ।

प्रमुख दलहरूमा युवा प्रतिनिधित्वको अवस्था

रास्वपाबाहेक अन्य दलहरूबाट पनि सिमित तर प्रभावशाली संख्यामा युवाहरू चुनिएका छन् । नेपाली कांग्रेसबाट मुस्ताङका ३२ वर्षीय योगेश गौचन थकाली, रौतहटका ३९ वर्षीय फिरदोश आलम र पाल्पाका ३८ वर्षीय सन्दीप राना गरी तीन जना युवाले संसलमा स्थान बनाएका छन् । नेकपा एमालेबाट इलामका ३६ वर्षीय सुहाङ नेम्वाङ र ताप्लेजुङका ३८ वर्षीय क्षितिज थेबेले ४० मुनिको समूहबाट प्रतिनिधित्व गर्दैछन् ।

त्यस्तै, श्रम संस्कृति पार्टीबाट खोटाङका २९ वर्षीय आरेन राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जुम्लाका ३४ वर्षीय ज्ञानबहादुर शाहीले पनि युवा आवाजलाई सदनमा पुर्‍याउने भएका छन् । जेनजी आन्दोलन र सामाजिक अभियानबाट आएका ३० वर्षीय शिवशंकर यादव र ३७ वर्षीया आसिका तामाङ जस्ता पात्रहरूको विजयले अबको संसदमा परम्परागत राजनीतिक शैलीभन्दा माथि उठेर नयाँ एजेन्डामा बहस हुने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार