२५ फागुन,वीरगञ्ज । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा जिल्लामा प्रत्यक्षतर्फ चारवटै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि सबैभन्दा ठूलो दल बनेको छ।
पर्सामा समानुपातिकतर्फ रास्वपाले १ लाख २३ हजार ९२८ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। अघिल्लो २०७९ सालको निर्वाचनमा भने रास्वपा ७ हजार ५५१ मतका साथ छैटौं स्थानमा मात्र सीमित थियो।
यसअघि २०७९ को निर्वाचनमा पर्सामा समानुपातिकतर्फ पहिलो दल बनेको नेपाली कांग्रेस यसपटक दोस्रो स्थानमा झरेको छ। प्रत्यक्षतर्फ चारै सिट गुमाएको कांग्रेसले समानुपातिकतर्फ ३८ हजार ७६९ मत प्राप्त गरेको छ। त्यस्तै नेकपा एमालेले ३३ हजार ९१९ मत प्राप्त गरेको छ।
अन्य दलहरूमा राप्रपाले ८ हजार ४९८, जसपा नेपालले ७ हजार ७३१, नेपाली कम्युनिष्ट पार्टीले ४ हजार ८३८, राष्ट्र निर्माण दलले २ हजार १७६, राष्ट्रिय परिवर्तन पार्टीले १ हजार ५३७ र जनमत पार्टीले १ हजार ४७४ मत प्राप्त गरेका छन्।
अघिल्ला निर्वाचनको तुलना
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा पर्सामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको थियो। त्यसबेला कांग्रेसले ६६ हजार ६७५ मत पाएको थियो भने एमालेले ४२ हजार ९७५ र जसपा नेपालले ३८ हजार ४२१ मत प्राप्त गरेका थिए। राप्रपाले २० हजार ८७३, नेकपा माओवादी केन्द्रले १३ हजार २७४ र रास्वपाले ७ हजार ५५१ मत प्राप्त गरेका थिए।
त्यस्तै २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पर्सामा समानुपातिकतर्फ जसपा नेपाल पहिलो दल बनेको थियो। त्यसबेला जसपाले ५३ हजार ८२१ मत प्राप्त गरेको थियो भने कांग्रेसले ५० हजार ५९२ र एमालेले २२ हजार १५६ मत पाएका थिए।
क्षेत्रअनुसार मत परिणाम
पर्सा–१
समानुपातिकतर्फ रास्वपाले ३४ हजार ४६३ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। नेकपा एमाले ९ हजार २३१ मतका साथ दोस्रो र नेपाली कांग्रेस ८ हजार २६७ मतका साथ तेस्रो भएको छ। राप्रपा ३ हजार २४० मतका साथ चौथो र जसपा नेपाल १ हजार ९९ मतका साथ पाँचौं स्थानमा छन्।
पर्सा–२
यस क्षेत्रमा पनि रास्वपा ३४ हजार ९१८ मतसहित पहिलो भएको छ। नेपाली कांग्रेस १० हजार ३४० मतका साथ दोस्रो र एमाले ८ हजार ५८५ मतका साथ तेस्रो स्थानमा छन्। राप्रपा ३ हजार ५०६ र जसपा नेपाल २ हजार ४५० मतसहित क्रमशः चौथो र पाँचौं भएका छन्।
पर्सा–३
रास्वपा २४ हजार १५८ मतसहित पहिलो भएको छ। कांग्रेस ८ हजार ६५० मतका साथ दोस्रो र एमाले ६ हजार १६८ मतका साथ तेस्रो स्थानमा छन्। नेपाली कम्युनिष्ट पार्टी १ हजार १९५ मतसहित चौथो, राप्रपा ७७३ मतसहित पाँचौं र जनमत पार्टी ५७५ मतसहित छैटौं भएका छन्।
पर्सा–४
यस क्षेत्रमा पनि रास्वपा ३० हजार ३८९ मतसहित पहिलो स्थानमा छ। कांग्रेस ११ हजार ५१२ मतका साथ दोस्रो र एमाले ९ हजार ९३५ मतका साथ तेस्रो भएका छन्। जसपा नेपाल ४ हजार ३ मतसहित चौथो र नेपाली कम्युनिष्ट पार्टी २ हजार ४९ मतसहित पाँचौं स्थानमा छन्।
पर्सामा यसपटक रास्वपाले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा उल्लेखनीय सफलता हासिल गर्दै प्रमुख दलका रूपमा उदाएको देखिएको छ।

















