Logo

२५ फाल्गुण, काठमाडौं । मुलुककै सबैभन्दा बढी चर्चामा रहेको झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जस्ता ‘हेभिवेट’ प्रतिस्पर्धीलाई पराजित गरी ऐतिहासिक जित हासिल गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनावी खर्चको फेहरिस्त सार्वजनिक गरेका छन् ।

निर्वाचन परिणाम सार्वजनिक भएको छोटो समयमै कानुनी दायित्व पुरा गर्दै बालेनले आज निर्वाचन आयोगमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ चुनावी खर्च भएको विवरण पेस गरेका हुन् । आयोगले तोकेको खर्चको अधिकतम सीमाभन्दा निकै कम रकममा उनले आफ्नो चुनावी अभियान सम्पन्न गरेको देखिएको छ ।

बालेनले आयोगमा बुझाएको खर्च विवरण अनुसार चुनावी प्रचारप्रसारका क्रममा सबैभन्दा ठूलो हिस्सा अर्थात् ५ लाख ८० हजार रुपैयाँ खर्च भएको छ। त्यस्तै, निर्वाचन क्षेत्रमा दौडधुपका लागि सवारी साधन भाडामा २ लाख ९३ हजार ५०० र हवाई यात्राका लागि ३५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। स्थानीय स्तरमा सञ्चालित मतदाता प्रशिक्षण कार्यक्रममा खाना खर्च बापत २९ हजार ३९० रुपैयाँ र विभिन्न वडा स्तरीय प्रचार कार्यक्रमहरूमा खाजाका लागि २८ हजार ९७० रुपैयाँ खर्च भएको विवरणमा देखाइएको छ ।

खर्चको फेहरिस्तमा सबैभन्दा सानो अंक मनोनयन दर्ता प्रक्रियाका लागि खर्च भएको १० हजार रुपैयाँ रहेको छ। देशैभर जेनजी पुस्ता र नयाँ लहरको नेतृत्व गरिरहेका बालेनले थोरै खर्चमा पनि ठूलो राजनीतिक नतिजा निकाल्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् । निर्वाचन जितेलगत्तै पारदर्शी रूपमा खर्चको हिसाब बुझाएर उनले सुशासन र उत्तरदायित्वको नयाँ मानक स्थापित गर्न खोजेको देखिन्छ, जसले पुराना राजनीतिक दलका नेताहरूलाई समेत नैतिक दबाब सिर्जना गरेको छ ।


सम्बन्धित समाचार